पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले हालैको आन्दोलनमा निस्पाप युवाहरूको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।
एमाले स्थायी कमिटी सदस्य समेत रहेका अधिकारीले जारी गरेको वक्तव्यमा युवापुस्ताले उठाएको आवाज केवल माग मात्र नभई भविष्यको सपना भएको उल्लेख गर्दै त्यसलाई राज्यले सुन्ने जिम्मेवारी लिने बताए । उनका अनुसार भ्रष्टाचारविरुद्ध जेन जी पुस्ताले उठाएको आवाज जायज र न्यायोचित छ, तर दोस्रो दिन देखिएको तोडफोड र हिंसात्मक गतिविधि आन्दोलनकारीहरूको असली स्वर नभई बाहिरी घुसपैठे तत्वको काम थियो ।
उनले मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै बाह्य शक्तिले परिस्थितिलाई आफ्नो स्वार्थअनुसार मोड्न सक्ने सम्भावनाप्रति सतर्क रहनुपर्नेमा जोड दिए । आन्दोलनको नाममा युवापुस्ताको वास्तविक आकांक्षालाई कमजोर पार्ने प्रयास हुन सक्ने भन्दै अधिकारीले संयम, धैर्य र सतर्कताको आवश्यकता औंल्याए ।
अधिकारीले लोकतन्त्र र गणतन्त्र लामो संघर्ष र बलिदानका माध्यमबाट प्राप्त भएको भन्दै यसको रक्षा र सबलीकरण सबैको जिम्मेवारी भएको उल्लेख गरे । उनले संविधानको अधीनमा रही नयाँ सम्भावनाका ढोका खोल्दै जेन जी पुस्ताको आकांक्षा र प्रतिनिधित्वलाई नीति, कार्यक्रम र नेतृत्व तहमा प्रतिबिम्बित गर्ने प्रतिबद्धता जनाए ।
उनले आफ्नै जीवनप्रति खुला हुँदै दशकभन्दा बढी समयदेखि परिवार र पैत्रिक सम्पत्तिबाट आर्जित एकतले घरमै बसोबास गर्दै आएको बताए । त्यही घरमा रहेका दुर्लभ पुस्तक सामग्री, छोरीका किताब र निर्दोष निजी सम्पत्ति नोक्सान भएकोमा पीडा व्यक्त गर्दै उनले यो केवल निजी दुःख नभई भविष्यलाई चोट पुर्याउने कार्य भएको उल्लेख गरे ।
“युवापुस्ताको सपना हाम्रो पनि सपना हो । यात्रा सजिलो छैन, तर साझा प्रतिबद्धता, एकता र आपसी विश्वासका साथ हामी हरेक चुनौती पार गर्न सक्छौँ,” अधिकारीले भने, “हामी तपाईंहरूको साथमा छौँ ।”
अधिकारीले फेसबुक मार्फत जारी गरेको वक्तव्यको पूर्ण रुप
प्यारा कलिला भाइबहिनीहरूको जीवन यति असमयमै खोसिएको देख्दा मेरो हृदय असह्य पीडाले भत्किएको छ । अत्यधिक बल प्रयोगका कारण निस्पाप जीवनहरू सडकमा ढल्दा मेरो मन रोएको छ । मृत्यु हुनुभएका सम्पूर्णलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनको असह्य पीडामा म गहिरो समवेदना प्रकट गर्दछु ।
तँपाईहरुको पुस्ताले दिएको आवाज केवल माग मात्र होइन, भविष्यको सपना हो । तपाईंहरूको आकांक्षा, पीडा र आक्रोश हामी सबैका लागि सचेत गराउने घण्टी हो । तपाईंहरूले बोलेको कुरा न्यायसंगत छ, जायज छ, र हामीले सुन्नुपर्छ भन्ने जिम्मेवारी हाम्रो हो ।
तर, दोस्रो दिनमा देखिएको तोडफोड र हिंसात्मक गतिविधि तपाईंहरूको असल आवाज होइन । त्यो त घुसपैठेहरुको चाल थियो भन्ने विश्वास तँपाईहरुलाई जस्तै मलाई पनि छ , जसले तपाईंहरूको उज्यालो आन्दोलनलाई दाग लगाउन खोज्यो ।
हाम्रो देश आज एक विषम परिस्थितिबाट गुज्रिरहेको छ । यसबीचमा बाहिरी तत्वहरूले परिस्थितिलाई आफ्नै स्वार्थअनुसार मोड्न सक्ने सम्भावना बढिरहेको छ भन्ने कुरा हामी सबैले आत्मसात गर्न जरुरी छ । आन्दोलन र संघर्षलाई कमजोर पार्ने, असली आवाजलाई दबाउने, र युवापुस्ताको आकांक्षामा भ्रम सिर्जना गर्ने प्रयासहरू हुन सक्छन् । त्यसैले सतर्कता र धैर्य अहिलेको प्रमुख आवश्यकता हो ।
हामीले लामो संघर्ष र बलिदानका माध्यमबाट लोकतन्त्र र गणतन्त्र स्थापना गरेका छौँ । यो इतिहास हाम्रो साझा गौरव हो, जसलाई सुरक्षित राख्दै अझ सबल बनाउनु हामी सबैको जिम्मेवारी हो । लोकतान्त्रिक मूल्य र मान्यतामा आँच आउन नदिई, गणतन्त्रलाई स्थिर र सबल बनाउन हामी निरन्तर अग्रसर छौँ ।
यस यात्रा अब केवल विगतको सम्झना मात्र होइन, भविष्यको निर्माणको चुनौती पनि हो । त्यसैले संविधानको अधीनस्थ रही नयाँ सम्भावनाका ढोका खोल्नु आजको आवश्यकता हो । हामी युवापुस्ताको आवाजलाई आत्मसात गर्दै, विशेष गरी जेन जी पुस्ताको आकांक्षा र प्रतिनिधित्वलाई नीति, कार्यक्रम र नेतृत्व तहमा झल्किने गरी अघि बढ्ने प्रतिबद्धता गर्दछौँ ।
जेन जी पुस्ता केवल आलोचक मात्र होइन, देशलाई नयाँ उचाइमा पुर्याउने वास्तविक शक्ति हुन् भन्ने कुरामा हाम्रो दृढ विश्वास छ । उनीहरूको आवाज, विचार र संकल्पलाई राज्य व्यवस्थामा संस्थागत गर्दै मात्र समृद्ध र समावेशी भविष्य निर्माण सम्भव हुन्छ ।
म आफ्नो सम्पूर्ण जीवन पारदर्शिता, ईमानदारी र जिम्मेवारीप्रति समर्पित गर्दै बिताएको छु । यस यात्रामा कतै मैले लिएका जिम्मेवारीका कारण कहिंकतै गल्ती वा हानी–नोक्सानी पुगेको भए, म जस्तोसुकै छानबिन र सजाय स्वीकार गर्न तयार छु । सत्य बाहिर आओस्, न्याय स्थापित होस् भन्ने मेरो दृढ आकांक्षा छ ।
मेरो जीवन दश वर्षभन्दा बढी समयदेखि परिवार र पैत्रिक सम्पत्तिबाट आर्जित एउटा साधारण १ तले घरमै बितिरहेको छ।सो घरमा रहेका दुर्लभ पुस्तक सामग्री, मेरी छोरीका किताब र अन्य निर्दोष निजी सामग्री नोक्सान पारिएको छ। यो मेरो निजी दुःख मात्र होइन, प्रत्येक पुस्ताले पढ्ने र सिक्ने भविष्यलाई चोट पुर्याउने काम हो ।
साथीहरू,
हामीलाई थाहा छ— यात्रा सजिलो छैन । तर साझा प्रतिबद्धता, एकता र आपसी विश्वासका साथ हामीले हरेक चुनौती पार गर्न सक्छौँ । लोकतन्त्र र गणतन्त्रका मूल्यलाई सुरक्षित राख्दै, युवापुस्ताको सपना र आकांक्षालाई मूर्त रूप दिन हामी सबै मिलेर अघि बढ्नेछौँ।
हामी विश्वास गर्छौं— तपाईंहरूको मन परिवर्तनको लागि धड्किरहेको छ, तपाईंहरूको आँखा उज्यालो भविष्य खोजिरहेको छ । तपाईंहरूको सपना हाम्रो पनि सपना हो ।
तपाईंहरूको यात्रा सहज छैन, तर हामी तपाईंहरूको साथमा छौं ।











