पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले यही आउँदो मंसिर १७ देखि २१ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण आयोजना गर्ने भएको छ । सङ्घको आइतबार बसेको कार्यसमिति बैठकले मेलाको मिति तय गरेको हो ।
सङ्घका अध्यक्ष गोकर्ण कार्कीका अनुसार पोखरा ९, प्रदर्शनी केन्द्रमा मेला आयोजना गरिने छ । सङ्घले मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवर्द्धन तथा प्रचार–प्रसार, पोखराको पर्यटन र व्यापार प्रवर्द्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना, पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरूलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यमा समर्पित गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।
परम्परागत मेला र जात्रालाई परिमार्जन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घले नेपालमै पहिलोपटक २०४२ सालमा मेलाको आयोजना गरेको थियो । त्यसलाई २०४९ सालमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको नाम दिइयो भने २०५२ सालमा पोखरा महोत्सवको आयोजना भयो । त्यसयता सङ्घले नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ अन्य सङ्घ संस्थाहरूसँग समन्वय गर्दै हस्तकला मेला–२०५३, पुष्प प्रदर्शनी– २०५५, हस्तकला तथा पुष्प मेला – २०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला–२०५९, औद्योगिक व्यापार मेला–२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा– २०६२, महिला उद्यमी मेला २०६८, २०७० र २०७४,२०७६ तथा राष्ट्रिय औद्योगिक व्यापार मेला २०६३ देखि २०७६ आयोजना गर्यो । कोभिडले रोकिएको मेलालाई सङ्घले २०७९ साल देखि पुनः निरन्तरता दिँदै आइरहेको छ ।
सङ्घकी महासचिव शोभा गौतमका अनुसार ३४ औं संस्करणको मेलामार्फत उद्योग व्यवसाय क्षेत्रको समुचित विकासका साथै स्वदेशी उत्पादनहरूको निर्यात प्रवर्द्धन एवं आन्तरिक बजार सुदृढीकरण र आयात प्रतिस्थापन गरी समग्र गण्डकी प्रदेशको उद्योग व्यवसायको प्रवर्द्धन र उद्यमशीलता विकासको लक्ष्य पनि लिइएको छ । मेलालाई मनोरञ्जनात्मकभन्दा पनि उद्यमशीलता विकासको थलो बनाउनकै लागि यसपटक समयावधि घटाएर ५ दिनको बनाइएको उनको भनाइ छ ।












