पोखरा । लेखनाथ उद्योग वाणिज्य सङ्घको १५ अधिवेशनमा जानुका पराजुली अधिकारीको प्यानलले ‘क्लिन स्विप’ गर्न सफल भएको छ । यो सँगै सङ्घमा पहिलोपल्ट महिला नेतृत्व निर्वाचित भएको छ । सङ्घको १५ औं महाधिवेशन अन्तर्गत आइतबार राति सम्पन्न मतगणनामा उनले अध्यक्षका प्रत्यासी राजेन्द्र ओझालाई १६३ मतान्तरले पराजित गर्दै आगामी २ वर्षका लागि निर्वाचित हुन सफल भएकी हुन् ।
जानुका र उनको प्यानलले सङ्घको निर्वाचनमा कार्यसमितिको पदाधिकारी तर्फमात्रै नभएर कार्यसमितिको सबै सदस्यहरूमा पनि ‘क्लिन स्विप’ गर्न सफल भएको छ । यस अगाडि जानुका सङ्घको महासचिवको जिम्मेवारीमा थिइन भने राजेन्द्र सङ्घको बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए। सङ्घको नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा अध्यक्षमा बिजयी जानुकाले ९ सय ९६ मत र उनका प्रतिस्पर्धी राजेन्द्रले ८ सय ३३ मत मात्र प्राप्त गरेका थिए। सङ्घको बरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोलाले ९ सय ६६ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी उपेन्द्रराज सुवेदी राजुले ८ सय ५३ मतमा चित्त बुझाउनुपर्यो। सुवेदी १ सय १३ मतले पराजित हुन् पुगेका छन्।
यसैगरी नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा बिक्रम कर्माचार्यले १ हजार १ सय ५० मत पाएर बिजयी बन्दा उनकी प्रतिस्पर्धी मेनुका श्रेष्ठले ६ सय ७४ मत मात्र प्राप्त गरिन। सङ्घको द्वितीय उपाध्यक्षमा पनि जानुका प्यानलका ध्रुवबाबु भट्टराई आइडीले अन्य उमेदवारको भन्दा बढी अर्थात ६ सय १५ मतको फराकिलो अन्तरमा आफ्ना प्रतिस्पर्धीलाई पराजित गरेका छन्। जानुका प्यानलका ध्रुवले १ हजार २ सय १८ मत पाउँदा उनका प्रतिस्पर्धीे धिरज कुमार श्रेष्ठले ६ सय ३ मत मात्र प्राप्त गरेका थिए।
सङ्घको महासचिव पदमा भने अन्य पदाधिकारीको तुलनामा बढी प्रतिष्पर्धा रहेको मतगणनाको परिणामले देखाएको छ। जानुका प्यानलका महासचिवका उम्मेदवार भरतराज ओझाले ९ सय ५५ मत पाएर बिजयी बन्दा उनका प्रतिस्पर्धीे जीवन तिवारीले ८ सय ७६ मत प्राप्त गरेका थिए। उनीहरूको बिचमा ७९ मतको मात्र अन्तर परेको थियो। सङ्घको उपमहासचिव पदमा जानुका प्यानलकी गङ्गाकुमारी मल्लले १ हजार ६६ मत पाएर निर्वाचित भइन। उनका प्रतिष्पर्धी लक्ष्मी प्रसाद ढुङ्गानाले ७ सय ६६ मत मात्र प्राप्त गरेका थिए। जस अनुसार मल्लले ३ सय मतले ढुङ्गानालाई पराजित गरेकी हुन्। मल्ल यस अगाडि पनि सङ्घको कार्यसमितिमा लोकप्रिय मतका साथ कार्यसमितिको सदस्यमा निर्वाचित भएर काम गरेकी थिइन। लेखनाथ उद्योग वाणिज्य सङ्घको कोषाध्यक्षमा पनि जानुका टिमका हरि बस्ताकोटी बिजयी बनेका छन्। उनले १ हजार २७ मत पाउँदा प्रतिस्पर्धी टिकाराम सापकोटाले बस्ताकोटीको भन्दा २ सय ४९ मत कम अर्थात ७ सय ७८ मत मात्र प्राप्त गरेका थिए।
सङ्घको अधिवेशनको उद्घाटन शुक्रबार भएपनि शनिबार मतदान सम्पन्न भएको थियो। आइतबार बिहान ८ बजेबाट मतगणना शुरु भएपनि राति करिब दुई बजे कार्य समितिका सदस्यहरूको मतगणना सम्पन्न भएको हो। लेखनाथ उद्योग वाणिज्य सङ्घको कार्यसमितिमा एसोसिएट सदस्य तर्फबाट कार्यसमितिको सदस्यमा जानुका पराजुली प्यानलका उम्मेदवार दयाराज भण्डारी बिजयी भएका छन उनले २७ मत प्राप्त गरेका थिए। उनका प्रतिष्पर्धि राजेन्द्र ओझा प्यानलका उमेदवार प्रवेश बन्जाराले २१ मत मात्र प्राप्त गरेका थिए। एसोसिएट तर्फ ५० जना मतदाता रहेकोमा ४८ जनाले मतदान गरेको बुझिएको छ।
कार्यसमितिको संस्थागत सदस्यमा बिरभद्र कंडेल निर्बिरोध निर्वाचित भैसकेका छन । लेखनाथ उधोग वाणिज्य सङ्घको आगामी कार्यकालको लागी निर्वाचित कार्यसमितिको खुला सदस्यहरूमा पनि जानुका प्यानलका उमेदवारहरु नै विजयी भएका छन। कार्यसमितिको सदस्यमा १६ जनाले उमेदवारी दिएकोमा ८ जना निर्वाचित हुने ब्यबस्था अनुरुप जानुका प्यानलबाट उमेदवारहरु मध्ये सुजन न्यौपानेले १ हजार ७२ मत, प्रतिक्षा रानाभाटले १ हजार ४० मत, भविन्द्र पुन भविनले १ हजार ३६, बिरेन्द्रराज भुर्तेलले ९ सय ७७ मत पाएर निर्वाचित भएका छन। अन्य सदस्यहरूमा दिपक अधिकारीले ९ सय ६०, प्रभा कुमारी पौडेल लामिछानेले ९ सय ४४ मत पाएर निर्वाचित भए भने कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकी दुबैले ८ सय ८३ र प्राप्त गरेर कार्यसमितिको खुला सदस्यमा बिजयी बनेका छन।
यसैगरी कार्यसमितिको दुईजना महिला सदस्यहरूमा पनि जानुका प्यानलकी शर्मिला श्रेष्ठले १ हजार १ सय ८४ मत एबम गङ्गा सापकोटा परियारले ९ सय १० मत पाएर बिजयी भएका छन । राजेन्द्रको प्यानलबाट उमेदवारी दिएका सदस्यका उमेदवारहरु मध्ये भीमप्रसाद सुवेदी ९सन्तोष० ले ५ सय ११, घनश्याम ढुङ्गानाले ६ सय ८८, किशोर अधिकारीले ७ सय १५, कृष्णप्रसाद सुवेदीले ८ सय ५७, नवराज पौडेलले ८ सय ७८, सन्तोष हमालले ५ सय, सुरेन्द्र गुरुङले ७ सय ११ र शिबराज अधिकारीले ६ सय २७ मत पाएका थिए। यसैगरी महिला सदस्यका उमेद्वारहरु सपना सुबेदीले ९ सय ७ र लक्ष्मी ठाकुर सुनारले ३ सय ६६ मत मात्र प्राप्त गरेकी थिइन । संघका कुल २ हजार १९ सदस्य रहेकोमा निर्वाचनमा १ हजार ८ सय ८१ मत खसेको थियो ।












