पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ कालिका चुत्रकोटमा अर्धनारीश्वर दिव्यधाम स्थापना हुने भएको छ । हिन्दु धर्म, योग, वेद र संस्कृति सम्बन्धी गहिरो अनुसन्धान तथा साधनाको केन्द्रका रूपमा निर्माण हुने धामको निर्माण प्रारम्भ भएको छ ।
जसअनुसार धार्मिक–शैक्षिक महाप्रकल्पको स्थल पोखरा २८, कालिकाको चुत्रकोटमा हुनेछ । अर्धनारीश्वर दिव्यधाम एक आधुनिक आध्यात्मिक केन्द्रको रुपमा रहने बताइएको छ । धाममा वैदिक परम्पराको क्लासिकल अर्धनारीश्वर मूर्ति स्थापना गरिनेछ । जहाँ शिव र शक्ति (स्त्री–पुरुष तत्त्व) को दिव्य मिलन स्वरूपलाई मूर्त रूप दिइनेछ ।
धाममा अर्धनारीश्वरसँगै गणेश, लक्ष्मी, सरस्वती, महाकाली, नवग्रह (नौ ग्रह देवता) सहित अन्य प्रमुख हिन्दु देवी–देवताहरूको स्थापना गरिनेछ । धाम परिसरमा आधुनिक गुरुकुल स्थापना गरिने बताइएको छ । जहाँ वेद, उपनिषद्, ब्राह्मणको अध्ययनको लागि वेदशाला, वैदिक ज्योतिष, खगोलशास्त्र तथा ग्रह–नक्षत्र सम्बन्धी अनुसन्धानका लागि ज्योतिषशाला, योगाभ्यास, ध्यान र स्वास्थ्यका लागि योगशाला, स्मृति, पुराण, नीति र आचारको लागि धर्मशास्त्रशाला, वैदिक गणित, संस्कृत गणितीय पद्धति, विज्ञान संस्कारका लागि विज्ञान–गणितशाला गरी पाँच शालाहरू (संस्थानहरू) रहनेछन् ।
यस कार्यको लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत रुपमा दर्ता भइ गठित समितिले केही पूर्वाधार तथा नीतिगत प्रक्रिया सम्पन्न गरेको छ । अर्धनारीश्वर दिव्यधाम धार्मिक,सांस्कृतिक तथा पर्यटन प्रबर्द्धन संस्थाको आयोजनामा मंगलबार विशेष कार्यक्रम भएको छ । कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय हिन्दु विद्वानहरू र शैक्षिक अगुवाहरूको उपस्थिति रहेको थियो । प्रमुख वक्ताहरूले अर्धनारीश्वर दर्शनको वैश्विक महत्व, सामाजिक समरसता र वैदिक मूल्यमा आधारित शिक्षाको आवश्यकतामाथि प्रकाश पारे। अर्धनारीश्वरको मूर्ति सहितको धाम नेपालमा पहिलो हुने दावी गरिएको छ ।
कार्यक्रममा बोल्दै हिन्दु स्वयंसेवक सङ्घका राष्ट्रिय प्रचारक रेभित कुमारले अर्धनारीश्वरको दर्शनले आजको समाजमा स्त्री–पुरुष समता र सह–सत्ता सम्झाउने विश्वास गरे । भारतीय शिक्षण मण्डल, गुरुकुल प्रकल्प संयोजक डा. दीपक कोइरालाले धामको स्थापना भएपछि नेपाल वेद–ज्ञानको केन्द्र बन्ने बताए । गणितज्ञ एवं प्राचार्य डा. पवनले धामभित्र वैदिक गणित अनुसन्धानको सम्भावना अत्यन्त उत्साहजनक रहेको उल्लेख गरे । वेदविद्, डा. धर्मराज कुइकेलले नेपाल र दक्षिण भारतको वैदिक सम्पर्क यिनै गुरुकुलमार्फत पुनः स्थापन हुने अपेक्षा गरे । न्यायविद्, लेखक तथा प्रज्ञा अभ्यासकर्ता रहेका सस्थाका सल्लाहकार डा. रामकृष्ण तिमिल्सिनाले अर्धनारीश्वर दिव्यधाम एकीकृत चेतना, न्याय र दर्शनको प्रतीक हुने दावी गरे । सस्थाका संरक्षक दिपक तिमिल्सिनाले समग्र नेपालका लागि यो परियोजना एक सांस्कृतिक पहिचान बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछाने, २६ का अध्यक्ष नरेन्द्र थापा, लेखनाथ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष उपेन्द्र सुवेदी, राजनीतिक व्यक्तित्व कृष्ण केसी, मुरारी शर्मा लगायतले स्थानीय रूपमा सहयोग गर्ने वचन बद्धता व्यक्त गरे ।

सस्थाका अध्यक्ष तिलकशाली अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरि प्रसाद त्रिपाठीले उद्देश्य र भावी योजनाको बारे प्रकाश पारेका थिए । कार्यक्रम संचालन समन्वय सस्थाका सचिव राजेशकुमार घिमिरे गरेका थिए ।
परियोजनाको उद्देश्य सनातन वैदिक मूल्य र परम्पराको संरक्षण, युवाहरूमाझ योग, वेद, ज्योतिष र दर्शनमा गहिरो बोध, स्त्री–पुरुष समता र सहकार्यको सार्वभौमिक सन्देश र हिन्दु तीर्थयात्राको नयाँ केन्द्रीकरण पोखरामा बनाउने रहेको छ । धामको वेबसाइट र लोगो चाँडै सार्वजनिक गरिने बताइएको छ । करिब ७० रोपनी क्षेत्रफल जग्गामा बन्ने धामको यस अगाडि नै पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले शिलान्यास गरेका थिए । कुल ५० करोड लागत अनुमान भए पनि पहिलो चरणमा २० करोड खर्च गरिने बताइएको छ ।
















