पोखरा । पोखरेली टेनिस खेलाडी आर्यष राज पौडेल साउथ इष्‍ट एशिया अन्तर्गत एटीएफ यु–१४ को ‘ए’लेवल टेनिस प्रतियोगितामा भाग लिन मलेशिया जाने भएका छन् । साउन १४ देखि ३१ गते सम्म क्वालालम्पुरमा हुने उक्त प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल टेनिस सङ्घको अनुरोधमा एसियन टेनिस महासङ्घले उनलाई ‘वाइल्ड कार्ड’ मार्फत छानेको हो । १२ वर्षीया आर्यषले अबको ३ वर्ष सम्म यो प्रतियोगिताको यु–१४ टुर्नामेन्ट खेल्न पाउने छन् । यस प्रतियोगितामा सहभागि खेलाडीहरूले विभिन्न चरणको यात्रा अनुसार एटीएफको अङ्क बटुल्नेछन् ।

यसैबीच कास्की जिल्ला टेनिस सङ्घले खेलाडी पौडेललाई बुधबार एक समारोहका विच बिदाई गरेको छ । बिदाई समारोहमा बोल्दै सङ्घ कास्कीका अध्यक्ष राजकुमार गुरुङले पोखराकै माटोमा हुर्किएका खेलाडी आर्यषले टेनिस खेलमा ठूलो सम्भावना देखाइरहेका बताए । उनले अन्तराष्ट्रिय कुनै पनि प्रतियोगितामा भाग लिन पाउनु पोखरेलीका लागि गौरव भएको बताउँदै शुभ–कामना व्यक्त गरे । बिदाई समारोहमा पोखराका अग्रज टेनिस खेलाडी, अभिभावक, टेनिस सङ्घका पदाधिकारी लगायतको सहभागिता रहको थियो । नेपाल शिर्ष वरियता खेलाडी प्रदीप खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0