काठमाडौँ । पार्टी विधानका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने छ । 

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् । 

 प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ  । सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरूले मात्र आजको बैठकमा बोल्ने अवसर पाउने गौतमले जानकारी दिए । 

सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन् । बैठक आज र भोलिमा सक्ने भनिए पनि सबै सबै केन्द्रीय सदस्यहरूले धारणा राख्ने समय लिएमा पर्सिसम्म लम्बिने पार्टी केन्द्रीय कार्यलयले जनाएको छ ।

पार्टीको साउन १ गते बसेको सचिवालय, २ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइएको छ । 

उपाध्यक्ष पौडेलले विधान यी विषयहरू पनि समेटेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने गौतमले जानकारी दिए । केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटी कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ । मातहतका कमिटीबाट आएका सुझावहरूलाई समेटेर महाधिवेशनमा प्रस्तुत गरिने गौतमले जानकारी दिए । भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0