पोखरा। पोखरामा लामो समयदेखि क्रियाशील पत्रकार रुद्र श्रीष मगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानपत्र तथा नगद १५ हजार सहित सम्मानित भएका छन् । 

 उनलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित तथा नेपाल मगर पत्रकार सङ्घ कास्कीद्वारा संरक्षित पुरस्कार बिहीबार पोखरामा अर्पण गरिएको हो ।  कार्यक्रममा बोल्दै सम्मानित श्रीषमगरले पुरस्कारले आफूलाई खुसी दिलाउनुका साथै जिम्मेवारी थपिएको अनुभव भएको बताए ।

सांस्कृतिक र संस्कार मगर समुदायको पहिचान भएकालाई संस्कारलाई जोगाउनु नयाँ र पुराना पुस्ताले विषेश ध्यान दिनु आवश्यक रहेको उनको भनाई छ । 

पुरस्कार प्राप्त गर्ने उद्देश्यले आफू यो पेसामा प्रवेश नगरेको उनको भनाई थियो । यो पेसामा कसरी मगर समुदायका व्यक्ति र नयाँ पुस्तालाई टिकाइराख्ने भन्ने योजना बनाएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेकोमा उनले कार्यक्रममा जोड दिएका छन् । 

हाल मगर र गुरुङ भाषालाई गण्डकी प्रदेश सरकारले कामकाजको भाषाका रुपमा लागूगर्ने निर्णय गरेकाले समुदायगत रुपमा समेत यो विषयलाई चासो दिनुपर्ने बताएका छन् । मगर र गुरुङ समुदायले यो निर्णय लागू गरेर अगाडि बढ्न सके भाषा संरक्षण हुनेमा उनको जोड थियो ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका युवा खेलकुद तथा सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने विधेयक पास भएता पनि समुदायगत रुपमा समेत सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । 

‘कामकाजी भाषाका रुपमा मगर र गुरुङ समुदायको भाषालाई ऐनका रुपमा ल्याइरहँदा कार्यान्वयन केही पेचिलो बन्न सक्छ, त्यसमा समुदायले प्रदेश सरकारलाई सकेको सहयोग गर्नुपर्छ ।’ मन्त्री थापाले भने । 

मगर र गुरुङ समुदायका फरक–फरक लिपी भएका जानकारी आएकाले कुुन सहज हुन्छ भन्ने विषयमा समुदायले नै सुझाव दिनुपर्ने उनले कार्यक्रममा बताए । सरकारी रूपमै कामकाजी भाषाका रुपमा लागूभइसकेपछि समुदायगत रुपमा लोप हुन लागिसकेको मगर र गुरुङ भाषाको संरक्षणमा केही हदसम्म टेवा पुग्ने उनको भनाई थियो । भाषा सम्बन्धी विधेयकलाई स्याङ्जा, तनहुँ लगायतका जिल्लामा पुगेर समुदायगत रुपमा बुझेर नै आफूहरूले ऐनको रुपमा पास गरेको उनले बताएका छन् । 

नेपाल मगर सङ्घका सांस्कृतिक विभागका उपप्रमुख तथा पुरस्कारदाता हर्क आलेले कौराहाको संस्कारलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले पुरस्कार स्थापित गरिएको बताए । मगर संस्कृतिलाई संरक्षण गर्न सबैले आआफ्नो स्थानबाट योगदान पुर्‍याउनुपर्नेमा उनको जोड थियो । मगर संस्कार र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई यो पुरस्कार प्रदान गर्नु आफूहरूको उद्देश्य रहेको उनको भनाई छ । 

नेपाल मगर पत्रकार संघ कास्कीका सहसचिव बल रोका मगरको सञ्चालन तथा अध्यक्ष सुरज थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा, छनौट समितिका संयोजक एमबी आस्था मगर, नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, प्रेस काउन्सिल नेपालका सदस्य तथा पत्रकार केशवशरण लामिछाने लगायतले आ–आफ्नो भनाई व्यक्त गरेका थिए । 

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापालाई मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ गण्डकी प्रदेशबाट सर्वसम्मतले पारित भएको अवसर पारेर सम्मान समेत गरिएको थियो । 

कार्यक्रममा मिस मगर नेपाल २०२४ का विजेतालाई समेत सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल मगर संघ चाउथे इकाई समितिको टोलीले कार्यक्रममा मौलिक कौराहा प्रस्तुत गरेका थिए ।

२०७५ सालमा स्थापना भएको पुरस्कारबाट यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), ‘एमबी आस्था’ (कास्की), मनोज घर्ती मगर (कास्की), खेम सारु मगर (पाल्पा) र सारदा झेंडी मगर (नवलपुर) पुरस्कृत भइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0