पोखरा । नेपाल कम्युनिष्ट पार्टी एमाले वडा कमिटी पोखरा–५ ले सरसफाइ तथा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । शुक्रबार सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा ५ मदनमार्गस्थित मदन स्मृति पार्कमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम गरेको हो । जबजका प्रतिपादक तथा लोकप्रिय नेता मदन कुमार भण्डारीको स्मृतिमा निर्मित उक्त पार्कमा कार्यक्रम आयोजना गरिएको वडा कमिटी अध्यक्ष लक्ष्मण बरालले कोटखबरलाई जानकारी दिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष बरालले पार्टीका उच्च कमिटीको निर्देशन पालनासँगै समाजमा देखिने विकृति र विसङ्गति विरुद्ध खबरदारी गर्दै समाज रूपान्तरणका कार्यमा समेत सक्रिय रहने प्रतिबद्धता जनाए । ‘जबज भनेको गतिशील रचनात्मक विचार विज्ञान हो, यसलाई जडसूत्रमा सीमित राख्नु हुँदैन,’ उनले भने, ‘हामीले सरसफाइ कार्यक्रमलाई अभियानको सुरुवातका रूपमा लिएका छौँ।’

कार्यक्रममा पारिजात, बेलपत्र लगायतका बहुउपयोगी बिरुवाहरूको वृक्षरोपणसमेत गरिएको थियो। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ५ का जनप्रतिनिधि, पार्टीका प्रदेश, जिल्ला र महानगर तहका नेताका अलावा पार्टीका कार्यकर्ता, शुभचिन्तक, सामाजिक व्यक्तित्व, बाराही माविका विद्यार्थी तथा स्थानीयवासीको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमले पार्कको सरसफाइ मात्र नभई पार्टीको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता र समाजसेवामा अग्रसर हुने धारणा उजागर गरेको छ। एमालेवडा कमिटी ५ ले सङ्गठनलाई थप व्यवस्थित र पार्टी गतिविधिलाई प्रभावकारी तवरले अगाडि बढाउदै पार्टीले लिएको लक्ष्य हासिल गर्ने हेतुले आफ्नै कार्यालय निर्माण समेत यतिबेला गरिरहेको जनाएको छ ।










