पोखरा । पोखरामा अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार, पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत, पन्जाबको अमृतसर निवासी ४९ वर्षीय कुलदिप सिंह र रूपन्देही तिलोत्तमा नगरपालिका–१६ का ४७ वर्षीय रामबहादुर बिक रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ८२ तोला १६ लाल सुनका गरगहना बरामद गरेको छ । ती गरगहनाको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ बराबरको रहेको छ । बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मङ्गलसूत्र र पोते गरी सात प्रकारका रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबू ओलियाले जानकारी दिए ।

प्रहरी प्रमुख ओलियाका अनुसार, कुलदिप सिंह र रामबहादुर बिकबीच सामाजिक सञ्जालमार्फत झण्डै तीन वर्षअघिदेखि सम्पर्कमा रहेको खुलेको छ । उनीहरू दुवै जना सुन पसलमा काम गर्ने कालिगढ रहेका छन् । भारतका विभिन्न राज्यमा सुनका गहना बिक्री गर्दै हिँड्ने कुलदिपले नेपालमा पनि कारोबार गर्ने योजना बनाएका थिए । सोही क्रममा अमृतसरस्थित अमरजित साहु नामक व्यक्तिको सुन पसलबाट गहना ल्याइ नेपालमा बिक्री गर्न लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका रामबहादुरले सो कारोबारमा संलग्न भई बिक्रीपश्चात केही पैसा पाउने सर्तमा साथ दिएको बयान दिएको प्रहरीको दावी छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख ओलियाले जनाए। उनीहरूलाई उक्त सामान सहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग काठमाडौँ वा राजस्व अनुसन्धान कार्यालय बुटबल पठाइने उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0