पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को प्रस्याङ ठूलिपोखरी आमा समुहको आयोजना र वडा कार्यालयको सहयोगमा एक दिने उद्घोषण कला तालिम सम्पन्न भएको छ ।
तालिमको वडाअध्यक्ष विष्णुप्रसाद बरालले आइतबार उद्घाटन गरेका थिए । उनले पोखरा ५ ले अब नयाँ वडा कार्यालयबाट सेवा प्रवाह गर्ने तयारी भैरहेको जानकारी दिए । हालको वडाको कार्यालय साँघुरो र पुरानो भएका कारण नयाँ भवन निर्माणको काम अन्तिम चरणमा रहेकाले अब केही दिनमा नयाँ भवनमा सर्ने जानकारी दिए ।
अध्यक्ष बरालले वडा महिला दिदीबहिनीहरूको क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै अब रोजगार बनाउने कार्यक्रम ल्याउने बताए । उद्घोषण, कानुनी सचेतना र सीपमुलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

कार्यक्रम वडा सदस्य कल्पना भुवाजी क्षेत्रीले महिलाहरूको क्षमता विकासका लागि धेरै कार्यक्रम ल्याएको र आगामी दिनमा पनि ल्याउने बताइन् ।
कार्यक्रममा धारापानी आमा समूहका अध्यक्ष मिरा केसी, पोखरेली दिदीबहिनी समूहकी अध्यक्ष शारदा गिरी, नमुना आदर्श समुहकी अञ्जली खत्री लगायतले बोलेका थिए । प्रस्याङ, ठूलीपोखरी आमा समूहका अध्यक्ष पवित्रा उपाध्याय खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समुहका कोषाध्यक्ष भेषमाया अधिकारी भण्डारीले गरेकी थिइन् ।

तालिममा प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरी र उपाध्यक्ष राजाराम पौडेलले सहजिकरण गरेका थिए । तालिममा धारापानी आमा समूह, पोखरेली दिदीबहिनी समूह, जनहित महिला समूह, धर्मस्थली महिला विकास समूह, नमुना आमा समूह, धारापानी टोलसुधार समिति, धारापानी वाल क्लब सहित ७० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागीले तालिम फलदायी भएको प्रतिक्रिया दिएका थिए ।














