पोखरा, ७ मंसिर । पोखरा महानगरपालिकाको न्यायिक समितिको आयोजनामा सोमबारदेखि मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम सुरु भएको छ । तालिमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख आचार्यले पोखरा महानगरपालिकाको न्यायिक समितिले गर्दै आएका कार्य प्रशंसनीय रहेको बताए । स्थानीयस्तरमा विवाद समाधानका लागि महानगरपालिकामा सूचीकृत मेलमिलापकर्ताले निर्वाह गरेको भूमिका सराहनीय रहेको उनको भनाइ थियो ।

विवाद समाधानका क्रममा पक्षहरूबीच पर्याप्त छलफल र संवाद आवश्यक हुने उल्लेख गर्दै आचार्यले यसअघि तीन पटकसम्मको बैठकबाट समस्या समाधान गर्न कठिनाइ भएको महसुस भएपछि अहिले पाँच पटकसम्म बैठक बस्ने अभ्यास गरिएको जानकारी दिए ।

व्यक्तिगत अहम्, टोलस्तरका झगडा तथा केही राजनीतिक विषयसमेत विवादको कारण बन्ने गरेको उल्लेख गर्दै उनले यस्ता समस्याको समाधानका लागि मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले न्यायिक समितिले मेलमिलाप र निर्णय दुवै प्रक्रियालाई अघि बढाउँदै आएको बताइन् । न्यायमा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले न्यायिक समिति स्थापना गरिएको उनको भनाइ थियो ।

गुरुङले एक वर्ष पुनर्ताजगी तालिम र अर्को वर्ष आधारभूत तालिम सञ्चालन गर्ने अभ्यास हुँदै आएको जानकारी दिइन् । गत वर्ष विविध कारणले तालिम सञ्चालन गर्न नसकिए पनि यस वर्ष पुनर्ताजगीसँगै आधारभूत तालिमसमेत सञ्चालन गरिने उनले बताइन् ।

न्यायिक समितिलाई विवादमा निर्णय गर्ने र मेलमिलाप गराउने दुवै अधिकार भए पनि समितिले मेलमिलाप प्रक्रियालाई प्राथमिकतामा राख्दै आएको उपप्रमुख गुरुङले स्पष्ट पारिन् । तालिमले मेलमिलापका क्रममा देखिने व्यावहारिक समस्या समाधान गर्न तथा नयाँ विषयवस्तु र कानुनी व्यवस्थाबारे सहभागीलाई अद्यावधिक गराउन सहयोग पुग्ने उनको विश्वास थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २ का वडाध्यक्ष एवं नेपाली कांग्रेसका दलका नेता दिवसमान प्रधानाङ्ग र वडा नं. १७ की वडाध्यक्ष एवं नेकपा एमाले दलकी नेतृ राधिका कुमारी शाही योगीले पनि मन्तव्य राखेका थिए ।

न्यायिक समिति सदस्य कालिदास सुवेदीले स््वागत गरेको कार्यक्रम सोमप्रसाद लम्सालले सञ्चालन गरेका थिए । सामुदायिक मेलमिलापकर्ता समाज नेपालको सहजीकरणमा आयोजित तालिममा पोखरा महानगरपालिकामा सूचीकृत मेलमिलापकर्ताहरूको सहभागिता रहेको छ । पोखराको साइमन पार्टी प्यालेसमा सञ्चालन गरिएको तालिम मंगलबार सम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0