पोखरा । नेपाल र जापानबीचको सांस्कृतिक, शैक्षिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले पोखरामा ‘नेपाल–जापान एक्सचेन्ज कन्सर्ट–२०२६’ आयोजना हुने भएको छ ।
कास्की पोखरा समाज जापानको आयोजनामा आगामी मंसिर ४ गते बिहीबार पोखरा सभागृहमा कार्यक्रम हुन लागेको हो । दिउँसो ३ः३० बजेदेखि सुरु हुने कार्यक्रममा जापानबाट आएका कलाकार र नेपाली कलाकारले संयुक्त रूपमा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन् ।
पोखरा महानगरपालिका र विभिन्न संघसंस्थाको सहयोगमा आयोजना हुने कार्यक्रम पोखरा र जापानको कोमागाने नगरबीच भगिनी सम्बन्ध स्थापना भएको २५ वर्ष पूरा भएको सन्दर्भमा विशेष महत्वका साथ आयोजना गर्न लागिएको हो । संगीत र संस्कृतिका माध्यमबाट दुई देशका नागरिकबीच आपसी सद्भाव, आत्मीयता, समझदारी र सांस्कृतिक आदानप्रदानलाई थप विस्तार गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
कार्यक्रमबारे जानकारी दिन मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल र जापानबीचको सम्बन्ध कूटनीतिक तहमा मात्र सीमित नभई नागरिकस्तरको आत्मीयता, संस्कृति, शिक्षा र आपसी सहयोगमा समेत आधारित रहेको बताए ।
उनले यस्ता सांस्कृतिक कार्यक्रमले दुई देशका नागरिकलाई एकअर्काको भाषा, कला, संगीत र संस्कृतिसँग नजिक बनाउने उल्लेख गर्दै कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरे ।
कार्यक्रममा जापानी कलाकारहरूले नेपाली भाषामै गीत प्रस्तुत गर्ने तयारी गरिएको नगर प्रमुख आचार्यले जानकारी दिए । नेपाली कलाकारहरूको प्रस्तुतिसमेत रहने भएकाले कार्यक्रम दुई देशका कला र संस्कृतिलाई एउटै मञ्चमा जोड्ने अवसर बन्ने अपेक्षा गरिएको छ ।
यसैबीच पोखरा र कोमागाने नगरबीचको मित्रतालाई थप जीवन्त बनाउने उद्देश्यले कोमागाने पार्कमा ‘पोखरा–कोमागाने मितेरी चौतारी’ निर्माण गर्ने तयारीसमेत भइरहेको नगर प्रमुख आचार्यले बताए ।
कास्की पोखरा सम्पर्क समाजको अगुवाइमा निर्माण गर्न लागिएको चौतारीका लागि वरपीपलका बिरुवा हुर्काइसकिएको र आगामी माघ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए । चौतारी निर्माणका लागि करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
पोखरा र कोमागाने नगरबीचको २५ वर्ष लामो मित्रतालाई सांस्कृतिक गतिविधि, नागरिकस्तरको सम्बन्ध र आपसी सहकार्यका माध्यमबाट आगामी पुस्तासम्म विस्तार गर्ने लक्ष्यसहित एक्सचेन्ज कन्सर्ट आयोजना गर्न लागिएको हो ।
आयोजकले कार्यक्रमलाई केवल मनोरञ्जनात्मक सांगीतिक प्रस्तुतिमा सीमित नराखी नेपाल र जापानबीचको मित्रता, सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय सद्भाव अभिवृद्धि गर्ने साझा मञ्चका रूपमा विकास गर्ने विश्वास लिएका छन् । कार्यक्रमको तयारीका लागि मंगलबार बैठक समेत बसेको थियो ।













