पोखरा । राष्ट्रिय कर दिवसको अवसरमा पोखरामा प्रभातफेरीसहित सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको छ। करसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा करदाता र राज्यबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय पोखराको अगुवाइमा प्रभातफेरी निकालिएको हो।
पोखराको सभागृहबाट सुरु भएको प्रभातफेरी सिर्जना चोक, रत्नचोक, राष्ट्र बैंक चोक र सहिदचोक हुँदै आन्तरिक राजस्व कार्यालय पोखरामा पुगेर समापन भएको थियो।
‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिकको सहभागिता’ भन्ने नारासहित आयोजित प्रभातफेरीमा उद्योगी, व्यवसायी, पर्यटन व्यवसायी, सरकारी कर्मचारीलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले करसम्बन्धी विभिन्न जानकारीमूलक सन्देश अंकित प्लेकार्ड बोकेर करको महत्व र दायित्वबारे सचेतना फैलाएका थिए।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुङ्गानाले प्रभातफेरीमा सहभागी सबैलाई धन्यवाद व्यक्त गरे। करदाताको सहयोग र सहकार्यका कारण कार्यालयले निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको उनले बताए।
प्रमुख कर अधिकृत ढुङ्गानाका अनुसार राष्ट्रिय कर दिवसको अवसरमा एक सातासम्म विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। मंसिर २ गतेदेखि ६ गतेसम्म विभिन्न वस्तुगत संघसंस्थासँग अन्तक्र्रिया गरिनेछ भने मंसिर ५ र ६ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना हुनेछ। त्यस्तै, मंसिर ७ गते करदाता सम्मान कार्यक्रम आयोजना गरी कर सप्ताह समापन गरिने उनले जानकारी दिए।
करदाता सम्मान कार्यक्रममा तीन जना करदातालाई सम्मान गरिने उनले खुलाए ।
नेपालमा आधुनिक कर प्रणालीका रूपमा मूल्य अभिवृद्धि कर भ्याट लागू भएको दिनको सम्झनामा राष्ट्रिय कर दिवस मनाउन थालिएको हो। २०५४ मंसिर १ गते भ्याट लागू भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाइन्छ।













