पोखरा । फोहोरलाई समस्याका रूपमा नभई आम्दानी र नवप्रवर्तनको स्रोतका रूपमा स्थापित गर्ने उद्देश्यका साथ पर्यटकीय नगरी पोखरामा दोस्रो संस्करणको ‘रिसाइक्लिङ एन्ड अपसाइक्लिङ फेस्टिभल’ अर्थात ‘आरयू फेस्ट २०२६ – रि-थिङ्क’ आयोजना हुने भएको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पोखरा महानगरपालिका, कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीको संयुक्त आयोजनामा यही मंसिर २ र ३ गते पोखरा इभेन्ट सेन्टरमा उक्त महोत्सव सञ्चालन हुन लागेको हो। । आयोजकले मंगलवार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर फेस्ट वारे जानकारी दिएको छ ।

फोहोरलाई स्रोतमा र विचारलाई नवप्रवर्तनमा रूपान्तरण गरौँ’ भन्ने मूल भावका साथ आयोजना हुन लागेको यस दुईदिने महोत्सव बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ। चक्रीय अर्थतन्त्र प्रवर्द्धन गर्दै हरित रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको पोखरा महानगरपादिका प्रमुख धनराज आचार्यले जानकारी दिए । पोखरा ९ मा ग्रिन भेन्नचर जोन निर्माणको क्रममा रहेको आचार्यले बताए । स्कुल स्कुलमा आर यु क्लब बनाएर फोहोरलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा सचेतना प्रदान गरिने गरिएको उनको भनाइ छ ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले फोहोरको व्यवस्थापन स्थानीय निकायले सार्वजनिक नीजि साझेदारीमा आधारित भएर गर्छ भन्नका लागि यो कार्यक्रम गर्न लागिएको बताए । रिसाइक्लिङ एन्ड अपसाइक्लिङ को विषय अर्थतन्त्र सँग जोडिएको विषय भएको उनको भनाइ छ ।

४० भन्दा बढी स्थानीय हरित उद्यमीहरूले फोहोर वस्तुलाई पुनः प्रयोग र प्रशोधन गरी बनाएका आकर्षक एवं उपयोगी सामग्रीहरूको प्रदर्शनी तथा बिक्री कक्ष रहनेछ। फेस्टमा युवा तथा नवप्रवर्तकहरूको सिर्जनशीलता र फोहोर व्यवस्थापनसम्बन्धी नवीन समाधानहरूको प्रतिस्पर्धात्मक प्रस्तुति रहनेछ।
फोहोर तथा खेर जाने वस्तुहरूलाई कसरी पुनः प्रशोधन रिसाइक्लिङ र कलात्मक रूपान्तरण अपसाइक्लिङ गरिन्छ भन्ने प्रत्यक्ष विधि अवलोकन गर्न सकिनेछ कार्यक्रमका फोकलपर्सन नेत्र तिमिल्सिनाले जानकारी दिए ।

दिगो पर्यटन, हरित रोजगारी, फोहोर व्यवस्थापनका चुनौती र समाधानका विषयमा नीति निर्माता, उद्यमी, कलाकार, विद्यार्थी र सरोकारवालाहरूबीच विशेष अन्तरक्रिया हुनेछ। फेस्टको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0