पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पोखरा महानगरपालिका समितिको आयोजनामा महिला कानुनी तथा राजनीतिक अधिकार र उत्प्रेरणासम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबार पोखरा–१७, विरौटास्थित ग्यालेक्सी ब्याङ्क्वेटमा आयोजित कार्यक्रम कास्की निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विना गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गुरुङले राजनीतिको हरेक तहमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताइन् । महिलाहरूले आफूहरूलाई पछाडि पारिएको र अवसर नदिइएको गुनासो गर्ने गरे पनि नेतृत्व लिनका लागि आफैँले पनि साहसका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

आफू निर्वाचनमा उम्मेदवार हुँदा डेढ महिनासम्मको चुनावी अभियानमा साथमा हिँड्ने महिला तथा दिदीबहिनीको संख्या निकै न्यून रहेको अनुभव सुनाउँदै उनले महिलाहरूको राजनीतिक सक्रियता अझै बढाउनुपर्नेमा जोड दिइन् । गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका मध्ये महिलामा आफू मात्र विजयी हुन सफल भएको उनले उल्लेख गरिन् ।

निर्वाचनमा टिकट प्राप्त गरेदेखि अहिलेसम्म पनि आफूविरुद्ध विभिन्न गलत अफवाह फैलाउने प्रयास भइरहेको भन्दै सांसद गुरुङले असन्तुष्टि व्यक्त गरिन् । भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गरेको स्पष्ट पार्दै उनले उम्मेदवारीको टिकट प्राप्त गर्न कुनै रकम नतिरेको बताइन् । सबैको साथ, सहयोग र प्रेरणाका कारण आफू यो स्थानसम्म आइपुगेको उनको भनाइ थियो ।

प्रतिनिधिसभामा ९६ जना महिला सांसद रहे पनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने महिलाको संख्या १४ जना मात्र रहेको उल्लेख गर्दै उनले महिलाहरू निर्वाचित हुन असक्षम भएका हुन् वा उनीहरूलाई पर्याप्त अवसर नदिइएको हो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताइन् । यस्ता प्रशिक्षण कार्यक्रमले आगामी स्थानीय तह निर्वाचनमा महिलाहरूको सहभागिता र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको विश्वास थियो ।

कार्यक्रममा रास्वपाकी केन्द्रीय सदस्य पवित्रा थापाले राजनीतिक तथा कानुनी रूपमा महिलाका धेरै अधिकार सुनिश्चित भए पनि व्यवहारमा ती अधिकार कार्यान्वयन हुन नसक्नु चुनौतीपूर्ण विषय भएको बताइन् । महिलाले अधिकार प्राप्त गर्न र नेतृत्वमा पुग्न कुन(कुन व्यवहारिक पक्षले अवरोध सिर्जना गरिरहेका छन् भन्ने विषयमा गम्भीर विश्लेषण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

त्यस्तै, रास्वपा गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीले पार्टीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न गतिविधि सञ्चालन गरिरहेको जानकारी दिए । स्थानीय तहमा आवश्यक जनप्रतिनिधिका पाँचवटै पदमा महिला उम्मेदवार बन्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै उनले दुई पदमा मात्र सीमित भएर सोच्न नहुने बताए । महिलाहरूले आत्मविश्वासका साथ दावेदारी प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै उनले ‘महिला पहिला’ भन्ने अवधारणासहित महानगर समितिले प्रशिक्षण आयोजना गरेकोमा खुसी व्यक्त गरे ।रास्वपा पोखरा महानगरपालिका सभापति योगेन्द्रबहादुर केसीले महिलाको अधिकार सुनिश्चितता र आगामी स्थानीय तह निर्वाचनमा महिलाको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । प्रशिक्षणले महिलाहरूबीच सामूहिक भावना, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्दै राजनीतिक क्षेत्रमा सहभागिता बढाउन सहयोग पुग्ने उनको विश्वास थियो ।

रास्वपा पोखरा महानगरपालिका समितिकी उपसभापति सङ्गीता तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव सरिता शर्माले गरेकी थिइन् । कार्यक्रममा प्राज्ञ डा। तुलसी प्रभास खनाल र अधिवक्ता इन्दिरा आचार्यले महिला कानुनी अधिकार, राजनीतिक सहभागिता तथा उत्प्रेरणाका विषयमा प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0