पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित उडान सुरु भएको एक महिनामा ६ हजार ३६२ यात्रुले हवाई यात्रा गरेका छन् । सेप्टेम्बर २३ देखि अक्टोबर २३, २०२६ सम्मको अवधिमा दुबईबाट पोखरा ४ हजार ५२१ जना आएका छन् भने पोखराबाट दुबई १ हजार ८४१ जना गएका छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार एक महिनाको अवधिमा ३० वटा उडान भएका छन् । दुबईबाट पोखरा आउने यात्रुको सङ्ख्या पोखराबाट दुबई जाने यात्रुको तुलनामा उल्लेख्य बढी देखिएको छ ।

मेयर आचार्यका अनुसार पहिलो महिनामा पोखरा–दुबई नियमित उडानको यात्रु सङ्ख्या उत्साहजनक रहे पनि पोखराबाट दुबई जाने यात्रुको सङ्ख्या बढाउनुपर्ने आवश्यकता छ । उनले यात्रुको आगमन र प्रस्थानलाई सकेसम्म सन्तुलित बनाउँदै उडानलाई दीर्घकालीन रूपमा सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् ।

पोखरा–दुबई नियमित उडानलाई निरन्तरता दिन फ्लाईदुबईले सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरेको उल्लेख गर्दै आचार्यले कम्पनीको व्यवस्थापन टोलीप्रति धन्यवाद व्यक्त गरेका छन् ।

उनले पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी–व्यवसायी तथा निजी क्षेत्रलाई सम्भव भएसम्म पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न र पोखरालाई अन्तर्राष्ट्रिय भ्रमणको प्रस्थान बिन्दु बनाउन आग्रह गरेका छन् ।

फ्लाईदुबई तथा यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यसम्म यात्रा गर्न सकिने सुविधालाई उपयोग गर्दै पोखराबाट अन्तर्राष्ट्रिय भ्रमण प्याकेज सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

पोखरा–दुबई नियमित उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउनुका साथै पर्यटन, व्यापार, रोजगारी र क्षेत्रीय आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यस हवाई सम्पर्कलाई दिगो बनाउन यात्रुको सङ्ख्या वृद्धि र पोखराबाट हुने अन्तर्राष्ट्रिय यात्रालाई प्रोत्साहन गर्नुपर्नेमा आचार्यले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0