पोखरा । नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगिता आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ ५ देखि १६ गतेसम्म पोखरामा सञ्चालन हुने भएको छ ।

आयोजक सहारा क्लब पोखराले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

हिम श्री फुड्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा सञ्चालन हुँदै आएको प्रतियोगिताले नेपाली फुटबलको विकास, खेलकुदको प्रवर्द्धन र पोखरालाई खेलकुद पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्नुका साथै प्रतिभाशाली खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको आयोजकले जनाएको छ ।

पोखरा महानगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला फुटबल संघलगायत विभिन्न संघसंस्था तथा सहयोगीहरूले साथ दिँदै आएका छन् ।

त्यसैगरी लुम्बिनी विकास बैंक, नमस्ते एजुकेशन कन्सल्टेन्सी, बुद्ध एयर, सहारा क्लबका बेलायत, हङकङ तथा अस्ट्रेलियास्थित शाखा र विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका, पुरस्कार राशि तथा अन्य विवरण सम्बन्धित समयमा सार्वजनिक गरिने क्लबले जनाएको छ । प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइने पनि विज्ञप्तिमा उल्लेख छ ।

क्लबले प्रतियोगितालाई सफल बनाउन विगतमा सहयोग गर्ने प्रायोजक, सहयोगी संघसंस्था, खेलप्रेमी, सञ्चारकर्मी, दर्शक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी संस्करण सफल बनाउन सबैको सहयोग र सहभागिताका लागि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0