पोखरा । दसैँको टीकाको तेस्रो दिनसम्म आइपुग्दा पोखरामा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ । बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव क्रमशः कम हुँदै गएको र अनुकूल मौसम सुरु भएकाले पोखराको पर्यटन व्यवसायमा उत्साह थपिन थालेको हो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलका अनुसार अहिले पोखरा आउने पर्यटकमा आन्तरिक पर्यटकको संख्या उल्लेख्य छ । केही भारतीय पर्यटकसँगै ट्रेकिङको सिजन सुरु भएकाले विदेशी पर्यटकको आगमनसमेत बढ्न थालेको उनले बताए । विदेशी पर्यटकमध्ये बंगलादेशी पर्यटकको उपस्थिति पनि उल्लेख्य रहेको उनको भनाइ छ ।
भुजेलका अनुसार अहिले पोखराका होटलको अकुपेन्सी ६० प्रतिशत नाघिसकेको छ । दसैँअघि पर्यटकको बुकिङ रद्द हुने तथा भ्रमण स्थगित गर्ने क्रम बढे पनि पछिल्ला दिनमा पर्यटकको आगमनले पर्यटन व्यवसायलाई केही चलायमान बनाएको उनले बताए ।
‘दसैँअघि पर्यटन क्षेत्र केही सुस्त थियो । विगतका वर्षमा दसैँको समयमा पर्यटकको चापले व्यवसाय धान्नसमेत कठिन हुन्थ्यो । यसपटक त्यस्तो अवस्था थिएन,’ उनले भने, ‘तर टीकाको तेस्रो दिनसम्म आइपुग्दा पर्यटकको चहलपहल बढ्न थालेको छ । अब पर्यटन क्षेत्रले गति लिने अपेक्षा गरेका छौँ ।’
गत भदौ र असोजमा भएका बाढीपहिरोका घटनाले विदेशी पर्यटकमा त्रास सिर्जना गर्दा पोखराको पर्यटन क्षेत्रमा असर परेको भुजेलले बताए । बाढीका कारण पोखरा आउने सडक मार्गमा समेत समस्या देखिएपछि पर्यटकको आवागमन केही असहज बनेको उनको भनाइ छ ।

विशेषगरी नेपालका विभिन्न स्थानमा भएका बाढीका घटनालाई समग्र नेपालको अवस्थासँग जोडेर बुझ्दा विदेशी पर्यटकमा गलत सन्देश गएको उनले बताए । पर्यटकले बाढीपहिरोबारे चासो राख्ने र सोधपुछ गर्ने क्रम अहिले पनि जारी रहेको उनले जानकारी दिए ।
पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँगै पर्यटन व्यवसायीले विभिन्न माध्यमबाट प्रचारप्रसार गरी नकारात्मक सन्देश चिर्ने प्रयास गरिरहेको उनले बताए ।
‘विदेशी पर्यटकले नेपालको बाढीपहिरोको अवस्थाबारे बुझ्दा कतिपयले समग्र नेपाल नै असुरक्षित भएको ठाने । त्यसको असर बुकिङमा पनि देखियो,’ भुजेलले भने, ‘अहिले विभिन्न माध्यमबाट वास्तविक अवस्था बुझाउने र पोखरा घुम्न सुरक्षित तथा उपयुक्त रहेको सन्देश प्रवाह गर्ने काम भइरहेको छ ।’
फ्लाई दुबईको उडानले पनि थप्यो आशा
गत सेप्टेम्बर २३ देखि सुरु भएको फ्लाई दुबईको नियमित उडानले पोखराको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन सहयोग गरेको भुजेलले बताए । अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
गत वैशाख–जेठमा भारतीय पर्यटकको आगमन उल्लेख्य रहेकाले यसपटक पनि सोहीअनुसार पर्यटक आउने अपेक्षा गरिएको थियो । त्यसका लागि बुकिङसमेत भएको भए पनि कालीगण्डकीमा आएको बाढीको प्रभावले अपेक्षित पर्यटक आगमन प्रभावित भएको उनले बताए ।

अब डेढदेखि दुई महिना पोखरा घुम्न उपयुक्त
मौसम अनुकूल बन्दै गएकाले अबको डेढदेखि दुई महिना पोखरा भ्रमणका लागि उपयुक्त समय हुने भुजेलको भनाइ छ । ट्रेकिङ र साहसिक गतिविधिमा रुचि राख्ने विदेशी पर्यटकसँगै परिवारसहित घुम्न आउने नेपाली पर्यटकको संख्या पनि बढ्ने उनले अपेक्षा गरेका छन् ।
गत वर्ष तिहारको भोलिपल्टदेखि लेकसाइडमा पर्यटकको चहलपहल बढेको स्मरण गर्दै उनले यस वर्ष पनि आगामी दिनमा पर्यटकको आगमन थप बढ्ने विश्वास व्यक्त गरे ।
‘हामी निराश भएर बस्ने होइन, सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । ट्रेकिङ र एड्भेन्चरमा रुचि राख्ने विदेशी पर्यटक क्रमशः बढ्ने अपेक्षा छ,’ उनले भने ।
पर्यटन व्यवसायमा दसैँका कारण दक्ष कामदार घर जाने भएकाले पनि व्यवसाय सञ्चालनमा केही कठिनाइ हुने गरेको उनले बताए । विगतका वर्षको तुलनामा यसपटक दसैँको समयमा पर्यटकको चाप कम रहे पनि पछिल्लो समय देखिएको सुधारले व्यवसायीमा आशा जगाएको उनको भनाइ छ ।

पर्यटक आकर्षित गर्न सीमा सहरसम्म प्रवर्द्धनको तयारी
पोखरामा पर्यटकको आगमन बढाउन परिषद्ले विभिन्न माध्यमबाट प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । अहिले पर्यटनको मुख्य सिजन भएकाले व्यवसायमा केन्द्रित हुने र सिजनपछि भारतका सीमा सहरसम्म पुगेर प्रचारप्रसार गर्ने विषयमा तयारी भइरहेको भुजेलले बताए ।
गत वर्ष भारतीय दूतावास र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा इन्फ्लुएन्सर तथा ब्लगरहरूलाई पोखरा भ्रमण गराएर व्यवसायीबीच बिजनेस टु बिजनेस (बीटुबी) कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमबाट सकारात्मक परिणाम प्राप्त भएको उनले बताए ।
यसपटक समेत यस्ता प्रवर्द्धनात्मक गतिविधिलाई निरन्तरता दिन सके भारतीय पर्यटकको आगमन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको उनले सुनाए ।
















