पोखरा । नेपालीहरूको महान् चाड बडादशैँमा पिङ खेल्ने परम्पराले विशेष महत्व राख्छ। दशैँमा कम्तीमा एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने जनविश्वाससँग जोडिएको पिङ खेल्ने चलनले चाडपर्वको रौनक थप्ने गरेको छ। तर पछिल्लो समय गाउँघरमा पिङ हाल्ने परम्परा क्रमशः हराउँदै जान थालेको छ। यस्तो अवस्थामा पोखराको फेवाताल किनारमा परम्परागत पिङ राखिएपछि दशैँको मौलिक संस्कृति संरक्षणसँगै पर्यटकलाई नेपाली परम्परासँग जोड्ने प्रयास गरिएको छ।
दशैँको अवसरमा पोखराको फेवाताल किनारमा रहेको बाराही खेल मैदानमा चौराली पिङ, लिङ्गे पिङ र घुमाउने पिङ राखिएका छन्। आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी राखिएका यी पिङले ताल किनारको वातावरणलाई थप उत्सवमय बनाएका छन्। पिङ खेल्न पुग्ने नेपालीहरू मात्र होइन, विदेशी पर्यटकसमेत नेपाली संस्कृतिको अनुभव लिँदै रमाइरहेका छन्।
विदेशी पर्यटकका लागि नेपाली दशैँ, यहाँका परम्परा र चाडपर्व मनाउने शैली नजिकबाट बुझ्ने अवसर बनेको छ पिङ। पिङमा मच्चिँदै रमाउने र त्यसका तस्बिर तथा भिडियो खिच्ने पर्यटकका कारण फेवाताल किनारमा छुट्टै रौनक देखिन्छ। प्रकृतिको सुन्दरता, फेवातालको मनोरम दृश्य र दशैँको सांस्कृतिक वातावरणले पोखरा घुम्न आउने पर्यटकलाई थप आकर्षित गरेको छ।
नेपाली समाजमा पिङ केवल मनोरञ्जनको साधन मात्र होइन, दशैँको सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा पनि हो। विशेषगरी गाउँघरमा बाँस, काठ र डोरीको प्रयोग गरी लिङ्गे पिङ बनाउने तथा समुदायका मानिस एकै ठाउँमा भेला भएर पिङ खेल्ने चलन थियो। पिङले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई चाडपर्वको खुसीमा सहभागी गराउँथ्यो। दशैँको आगमनसँगै गाउँका चौतारी, खुला चौर र बस्तीमा पिङ हाल्ने तयारीले छुट्टै उत्साह थप्ने गर्थ्यो।
तर पछिल्ला वर्षहरूमा गाउँघरमा पिङ हाल्ने परम्परा घट्दै गएको छ। बदलिँदो जीवनशैली, युवापुस्ताको गाउँबाट पलायन, सामूहिक रूपमा पिङ निर्माण गर्ने चलनमा कमी तथा आधुनिक मनोरञ्जनका साधनको बढ्दो प्रयोगले परम्परागत पिङको महत्व ओझेलमा पर्दै गएको देखिन्छ। कतिपय स्थानमा त दशैँका बेला पिङ नदेखिने अवस्था पनि छ।
यस्तो समयमा पोखराको फेवाताल किनारमा परम्परागत पिङ राखिनुले मनोरञ्जनसँगै सांस्कृतिक संरक्षणको सन्देश दिएको छ। पर्यटकीय नगरी पोखरामा नेपाली मौलिक संस्कृति र प्राकृतिक सौन्दर्यलाई एकै ठाउँमा अनुभव गर्न पाउँदा आन्तरिक तथा बाह्य पर्यटकका लागि यो आकर्षणको केन्द्र बनेको छ।
चाडपर्व केवल खानपान, नयाँ लुगा र भेटघाटमा मात्र सीमित हुँदैनन्। पुस्तौँदेखि चलिआएका परम्परा र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि चाडपर्वको महत्वपूर्ण पक्ष हो। दशैँमा पिङ खेल्ने परम्परालाई निरन्तरता दिन सके यसले नेपाली संस्कृतिको जगेर्ना गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउन सक्छ। पीङ खेल्दै गरेकी जर्मनी पर्यटक क्याटरिनाले रमाइलो अनुभुति भएको प्रतिक्रिया दिइन् ।
















