पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराकी कार्यकारी निर्देशक निर्मला कुमारी न्यौपानेले नेपाली चाडपर्वसँगै विदेशी पर्यटकको घुमफिरको सिजन पनि सुरु भएको बताएकी छन्।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले शुक्रबार आयोजना गरेको नेपालीका महान् चाडपर्व विजयादशमी, शुभ दीपावली, छठ तथा नेपाल संवत्लगायतको शुभकामना आदानप्रदान तथा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले चाडपर्वमार्फत नेपाली संस्कृति संरक्षण गर्नुका साथै विदेशी पर्यटकलाई नेपाली मौलिक परम्पराबारे जानकारी दिनुपर्ने बताइन्।
नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले संग्रहालय परिसरमा पिङसमेत राखिएको उनले जानकारी दिइन्। यसले नेपालीहरूको दसैँ र पिङ खेल्ने परम्पराबारे विदेशी पर्यटकलाई जानकारी दिन सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यकारी निर्देशक न्यौपानेले मध्यपूर्वमा जारी द्वन्द्व तथा नेपालमा भएका प्राकृतिक विपद्का घटनाका कारण केही पर्यटकको बुकिङ रद्द भए पनि पछिल्लो समय पर्यटक आगमन क्रमशः बढ्न थालेको बताइन्। पोखरा सुरक्षित रहेको र हिमालको दृश्यावलोकनका लागि अनुकूल अवस्था रहेकाले पर्यटकको आगमनले पुनः गति लिन थालेको उनको दाबी छ।
पछिल्ला दुई साताको तथ्याङ्कले पर्यटक आगमन विगतकै लयमा फर्किन थालेको सङ्केत गरेको उल्लेख गर्दै उनले पोखराको पर्यटन क्षेत्रप्रति सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिइन्।
विभिन्न पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको कार्यक्रममा हालै निर्वाचित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान गण्डकीका अध्यक्ष तीर्थराज सुवेदी, रेवान पोखराका अध्यक्ष बसन्त गौतम र पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेललगायतलाई सम्मानसमेत गरिएको थियो।
कार्यक्रममा नेपाली चाडपर्वको सांस्कृतिक महत्त्व, पर्यटन प्रवर्द्धन तथा विदेशी पर्यटकमाझ नेपालको मौलिक संस्कृति र परम्पराको प्रचारप्रसारका विषयमा अन्तरक्रिया गरिएको थियो।















