पोखरा । जिल्ला समन्वय समिति ९जिसस० कास्कीले चाडपर्वका समयमा बजार अनुगमन, महँगी नियन्त्रण र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
समितिको शुक्रबार सम्पन्न ५३औँ बैठकले चाडपर्वका बेला उपभोक्ता ठगिने, बजारमा मूल्यवृद्धि तथा खाद्यवस्तुमा मिसावट हुने र सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु बोक्ने तथा बढी भाडा असुल्ने गुनासो बढेको भन्दै अनुगमनलाई थप प्रभावकारी बनाउन अनुरोध गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले यातायात व्यवसायीबाट क्षमताभन्दा बढी यात्रु बोक्ने र तोकिएभन्दा बढी भाडा लिने गरेको गुनासो आएकाले त्यसलाई नियन्त्रण गर्न अनुगमनकारी निकाय सक्रिय हुनुपर्ने बताए। चाडपर्वका समयमा बढ्ने महँगी र बजारमा हुने मिसावट नियन्त्रण गर्नसमेत स्थानीय प्रशासन, स्थानीय तह र नेपाल सरकारलाई अनुरोध गरिएको उनले जानकारी दिए ।
बैठकले मालवाहक सवारीसाधनका लागि पर्याप्त पार्किङको व्यवस्था नभएको गुनासोलाई सम्बोधन गर्न उपयुक्त सार्वजनिक स्थानमा पार्किङको प्रबन्ध मिलाउन सम्बन्धित स्थानीय तहलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी, नेपाल सरकारले हालै लागू गरेको सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्थाले शैक्षिक क्यालेन्डरअनुसार निर्धारित पाठ्यभार समयमै पूरा गर्न असुविधा भएको भन्दै जिसस कास्कीले उक्त निर्णय पुनरावलोकन गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ ।
विगतमा साविक उच्च माध्यमिक शिक्षा परिषद्बाट अनुमति लिई केही क्याम्पसले सञ्चालन गर्दै आएका कक्षा ११ र १२ को व्यवस्थापनसम्बन्धी विषयमा पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । कानुनी व्यवस्थासँग सम्बन्धित समस्याका कारण विद्यार्थीको आईएमआईएस नम्बर नबन्ने अवस्था रहेको उल्लेख गर्दै विद्यार्थीको शैक्षिक भविष्य सुनिश्चित हुने गरी क्याम्पसमा सञ्चालित कक्षा ११ र १२ को वैकल्पिक व्यवस्थापन गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि बैठकले जिससका पदाधिकारीलाई विषयगत क्षेत्रअनुसार थप जिम्मेवारी तोकेको छ । कार्यक्षेत्र स्पष्ट गरी कार्ययोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउने निर्णय गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।
त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित योजनाअनुसार गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका कार्यान्वयनका लागि पदाधिकारीले आ–आफ्नो स्थानीय तहमा भएको प्रगतिको विवरण लिने र आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले पोखरा महानगरपालिका–२८ स्थित कालिका इङ्लिस बोर्डिङ स्कुलको विद्यार्थी बोकेको बस ओखलेको भिरमा दुर्घटना हुँदा ज्यान गुमाएका बालबालिका तथा अभिभावकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । दुर्घटनामा चार बालबालिका र एक अभिभावकसहित ५ जनाको मृत्यु भएको विवरण उल्लेख गर्दै बैठकले घाइते बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, घाइतेको उचित र निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकाय तथा नेपाल सरकारसँग अनुरोध गरेको छ ।
यसैगरी, रसुवा र नुवाकोट जिल्लाअन्तर्गत भोटेकोशी नदी तथा गोरखाको चुमनुब्रीस्थित बूढीगण्डकी नदीमा आएको बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरूप्रति पनि बैठकले श्रद्धाञ्जली व्यक्त गरेको छ । विपद्मा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावितप्रति सहानुभूति व्यक्त गरिएको छ ।
जिसस कास्कीको ५३औँ बैठकले जिल्लाको बजार व्यवस्थापन, यातायात सञ्चालन, शैक्षिक व्यवस्थापन, मानव अधिकार तथा विपद्सम्बन्धी विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आवश्यक समन्वय र कार्यान्वयनमा जोड दिएको छ ।















