पोखरा । विवेक बचत तथा ऋण सहकारी पोखरा–९, अर्चलबोटको आयोजनामा शनिबार यसका सेयर सदस्यको सित्तैमा रगत जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा कार्यक्रममा सहभागीको मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रगत जाँच सित्तैमा गरिएको हो ।

२ सय जनाको रगत जाँच सित्तैमा गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा बिराज बरालले मधुमेह, थाइराइड र हर्मनका समस्यामा हेलचेक्र्याइ गर्न नहुनेमा जोड दिए । उनले भने, ‘मधुमेह, थाइराइड, टिजी लगायतले बहुआयामिक जोखिम ल्याउँछन् । यी समस्याबाट बाच्न बेला बेलामा परीक्षण र आवश्यक सजगता जरुरी छ ।’

कार्यक्रममा युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले ८ जिल्लामा २४ शाखामार्फत् युआरएलले गुणस्तरीय सेवा प्रवाह गरिरहेको जनाए । उनले विभिन्न संघ, संस्थासँगको सहकार्यमा झण्डै अढाई सय निशुल्क शिविर गरी सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको उनले स्मरण गरे ।

सहकारीकी अध्यक्ष लक्ष्मी पौडेल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला, कार्यक्रम संयोजक मित्रलाल पौडेल, पुष्पराज कोइराला लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0