पोखरा । त्रिवेणी संगीतालय, पोखरा कास्कीले बालप्रतिभाको खोजी अभियानअन्तर्गत आयोजना गरेको ‘सुपर भ्वाइस अफ त्रिवेणी किड्स’को चौथो संस्करणमा ६० जना बालप्रतिभा छनोट भएका छन् । संगीतालयले लामो समयदेखि सञ्चालन गर्दै आएको विभिन्न प्रतियोगितात्मक कार्यक्रमअन्तर्गत यस वर्षको प्रतियोगितामा १५ वर्षमुनिका करिब २५० जना बालप्रतिभाले सहभागिता जनाएका थिए । शनिबार भएको म्युजिकल राउन्डबाट १०२ जना प्रतिस्पर्धीमध्ये ६० जना छनोट गरिएको त्रिवेणी संगीतालयका प्रबन्ध निर्देशक तथा प्रशिक्षक नवराज बरालले जानकारी दिए ।
बरालका अनुसार प्रारम्भिक चरणमा करिब २५० जनाबाट १८० जना छनोट गरिएको थियो । त्यसपछि १८० जनाबाट १०२ जना हुँदै शनिबारको चरणबाट ६० जना छनोट गरिएको हो । अब ६० जनाबाट ४० जना र ४० जनाबाट २० जना छनोट गरी फाइनल चरणमा २० जनाबीच प्रतिस्पर्धा गराइनेछ ।
फाइनल प्रतिस्पर्धाबाट उत्कृष्ट १० जना बालप्रतिभाले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न जिल्लाका विभिन्न विद्यालयबाट बालप्रतिभाको सहभागिता रहेको बरालले बताए ।

प्रतियोगितामा नेपाली भाषाका गीतलाई प्राथमिकता दिइएको छ । सहभागीले विभिन्न विधाका नेपाली गीत प्रस्तुत गर्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । यसअघि सेल्फ राउन्ड सम्पन्न भइसकेको छ भने शनिबार म्युजिकल राउन्ड आयोजना गरिएको थियो । अब दुईवटा ट्र्याक राउन्डपछि फाइनल चरणमा लोक विधा तथा स्वेच्छिक विधामा प्रस्तुति राख्ने अवसर दिइनेछ ।
प्रतियोगितामा बालप्रतिभाको उत्साहजनक सहभागिता रहेको भन्दै बरालले खुशी व्यक्त गरे । प्रतियोगिताले बालबालिकाको गायन प्रतिभा पहिचान गर्नुका साथै उनीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ ।
कार्यक्रम संयोजक सुनिल बरालले प्रतियोगितामार्फत नयाँ बालप्रतिभाको पहिचान गरी उनीहरूलाई संगीत क्षेत्रमा अघि बढ्ने अवसर प्रदान गर्ने उद्देश्य रहेको बताए । ‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन’ भन्ने नाराका साथ त्रिवेणी संगीतालयले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको उनले बताए ।
उनका अनुसार ‘सुपर भ्वाइस अफ त्रिवेणी किड्स’ कार्यक्रम त्रिवेणी संगीत पुरस्कार अक्षयकोष सहयोगार्थसमेत आयोजना गरिएको हो । प्रतियोगितामार्फत नयाँ पुस्तामा संगीतप्रतिको रुचि र प्रतिभालाई प्रोत्साहन गर्दै नेपाली संगीत क्षेत्रमा योगदान पुर्याउने उद्देश्य रहेको आयोजकले जनाएका छन् । प्रतियोगिताकफ फाइनल आगामी कार्तिक महिनामा आयोजना हुनेछ ।















