पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका वडा कमिटी–५ ले विपद् प्रभावितहरूको सहयोगका लागि १ लाख १ हजार १११ रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ।

पार्टी केन्द्रको आह्वानअनुसार वडा कमिटीले संकलन गरेको उक्त रकम नेकपा एमाले कास्की जिल्ला कमिटीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई हस्तान्तरण गरिएको हो।

राहत रकम हस्तान्तरण कार्यक्रममा वडा कमिटी–५ का अध्यक्ष लक्ष्मण बरालले राष्ट्रिय विपद्को यस शोकपूर्ण घडीमा सबैको आँखा रसाएको र मन रोएको बताए। उनले विपद्का कारण वडा कमिटीका उपसचिवसमेत रहेका माधव बास्तोलाकी छोरी श्रृष्टि बास्तोला हालसम्म बेपत्ता रहेको तथा संगठित सदस्य टेकराज तिमिल्सिनाका ज्वाइँ अभिषेक तिमिल्सिनाको परिवारसमेत विपद्को शोक र पीडामा रहेको जानकारी दिए।

विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै पार्टीका नियमित सांगठनिक गतिविधिबाहेक अन्य कार्यक्रम नगर्ने निर्णय गरिएको अध्यक्ष बरालले बताए। वडा कमिटीले वार्षिक क्यालेन्डरमा समावेश गरेको तीज विशेष कार्यक्रमसमेत स्थगित गरी त्यसका लागि संकलित रकम विपद् राहत कोषमा थप गरिएको उनले जानकारी दिए।

‘शोकको यस घडीमा सबै सहयोगी मनहरूले थोपा–थोपा सहयोग जुटाएर घैँला भरेझैँ संकलन गरेको यो रकमले विपद् प्रभावित परिवारहरूलाई केही भए पनि राहत मिल्ने विश्वास लिएका छौँ,’ अध्यक्ष बरालले भने।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारी, गण्डकी प्रदेश कमिटी सदस्य धनबहादुर नेपाली, नेकपा एमाले कास्की जिल्ला कमिटी अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य, अखिल नेपाल महिला संघ प्रदेश कोषाध्यक्ष कृष्णकुमारी गुरुङ, पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालसहित जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताको उपस्थिति थियो।

कार्यक्रममा सहभागी नेताहरूले विपद्को समयमा वडा कमिटी–५ ले देखाएको मानवीय सहयोग, राहत तथा उद्धारप्रतिको सक्रियताको प्रशंसा गरे। उनीहरूले विपद् प्रभावितका लागि मानवीय सेवामा वडा कमिटीले उदाहरणीय भूमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0