पोखरा । पोखरा महानगरपालिका–७ का वडाध्यक्ष राममोहन आचार्यले घारिपाटनस्थित राधाकृष्ण मन्दिरमा राधाकृष्णको पित्तलको मूर्ति स्थापना गर्न व्यक्तिगत रूपमा १ लाख १८ हजार ४ सय रुपैयाँ सहयोग गरेका छन् ।
कृष्णजन्माष्टमीको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा वडाध्यक्ष आचार्यको सहयोगबाट स्थापना गरिएको राधाकृष्णको मूर्ति अनावरण गरिएको हो । मन्दिरमा मूर्ति स्थापनाको आवश्यकता महसुस भएपछि संरक्षण समितिको आग्रहमा वडाध्यक्ष आचार्यले व्यक्तिगत रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुसार उनले रकम उपलब्ध गराएका हुन् ।
मूर्ति अनावरण कार्यक्रममा बोल्दै वडाध्यक्ष आचार्यले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै त्यसको प्रचार–प्रसारमा पनि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए । वडा नम्बर ७ को घारिपाटनमा रहेका दुईवटा मन्दिरमध्ये प्रगतिनगरमा रहेको मन्दिरलाई समेत प्रचार–प्रसारमार्फत थप चिनाउने पहल गर्ने उनको भनाइ थियो ।
मन्दिरमा जनैपूर्णिमा, कृष्णजन्माष्टमी, शिवरात्रिलगायत विभिन्न पर्वमा हुँदै आएका धार्मिक तथा सांस्कृतिक कार्यक्रमले स्थानीय समुदायलाई एकताबद्ध बनाउन सहयोग पुगेको उनले बताए ।
मन्दिर निर्माणदेखि हालको अवस्थासम्म ल्याउन योगदान गर्ने सबैलाई स्मरण गर्दै आचार्यले मन्दिर कुनै एक व्यक्तिको नभई समग्र समुदायको आस्थाको धरोहर भएकाले यसको संरक्षण र विकासमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
सोही अवसरमा वडाध्यक्ष आचार्यले घारिपाटन क्षेत्रमा सामुदायिक भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम अघि बढेको जानकारी दिए । स्थानीयवासीको मागअनुसार जनजागृति बाबा–आमा समूह र घारिपाटन आमा समूहको संयुक्त नाममा साढे ५ आना जग्गाको लालपूर्जा उपलब्ध गराउने तयारी भइरहेको उनले बताए । आगामी १० दिनभित्र जग्गाको लालपूर्जा उपलब्ध गराउने तयारी रहेको जानकारी दिँदै उनले समाजसेवी किरण केसी जग्गा व्यवस्थापनका लागि तयार भएको बताए ।

सम्भव भएसम्म अरुणोदय युवा क्लबलाई समेत समेटेर सामुदायिक भवन निर्माण गर्ने तयारी भइरहेको आचार्यले बताए । सामुदायिक भवन निर्माण भएमा घारिपाटनवासीले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्न सहज हुने उनको विश्वास छ ।
भवन निर्माणका लागि सबै जनप्रतिनिधि एक ठाउँमा रहेको बताउँदै उनले स्थानीय समुदायको आवश्यकताअनुसार विकासका काम अघि बढाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।
राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष गिरीधारी ढकाल ‘सत्यदेव’ले मन्दिरका लागि वडा कार्यालयबाट ५ लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए । उक्त रकमबाट मन्दिरमा सचिवालय स्थापना गरिएको उनले बताए ।
मन्दिरमा मूर्ति स्थापना गर्नुपर्ने आवश्यकता रहेकाले वडाध्यक्ष आचार्यसँग सहयोगका लागि आग्रह गरिएको र उनले व्यक्तिगत रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको ढकालले बताए । प्रतिबद्धताअनुसार आचार्यले १ लाख १८ हजार ४ सय रुपैयाँ सहयोग गरेकोमा उनले आभार व्यक्त गरे ।ढकालका अनुसार मन्दिरमा अझै दुईवटा मूर्तिको आवश्यकता छ ।
कार्यक्रममा वडाध्यक्ष आचार्यसहित उनको परिवारलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । भजन समितिले संरक्षण समितिका अध्यक्ष ढकाललाई समेत सम्मान गरेको थियो ।
२०५६ सालमा स्थापना भएको राधाकृष्ण मन्दिरलाई हालको अवस्थामा ल्याउन योगदान पुर्याएकी पूर्ण गिरीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । भजन समूहका सचिव पूर्णाखर अधिकारीले मन्दिरका लागि गणेशको मूर्ति सहयोग गर्ने घोषणा गरे ।
त्यस्तै, वडा सदस्य बसुन्धरा लामिछानेले आफ्नो जन्मदिनको अवसर पारेर मन्दिरलाई ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिन् ।
कार्यक्रममा वडा सदस्य बसुन्धरा लामिछाने, सुनिता सुनार, अर्जुनबहादुर थापा, विष्णुमणि बराल, संरक्षण समितिका उपाध्यक्ष चम्पासिंह गुरुङ, भजन समितिका सचिव पूर्णाखर अधिकारी, राधाकृष्ण टोल सुधार समिति अध्यक्ष ज्ञानेन्द्र शर्मा जैशी, तीनकुने टोल विकास संस्था अध्यक्ष गणेश श्रेष्ठ, संरक्षण समितिका सचिव केशव गिरी तथा वडा सचिव राजेन्द्र पौडेललगायतको सहभागिता थियो ।
कार्यक्रममा ठूलो संख्यामा घारिपाटनवासीको उपस्थिति रहेको थियो । सहभागीहरूले घारिपाटन क्षेत्रको विकासमा जनप्रतिनिधिले खेलेको भूमिकाको प्रशंसा गर्दै भजन–कीर्तनमा समेत सहभागिता जनाएका थिए ।















