नुवाकोट । भाद्र १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल खेलकुद महासङ्घले सञ्चालन गरेको मानवीय सहायता अभियानलाई निरन्तरता दिएको छ।

महासङ्घका अध्यक्ष दिपेन्द्र प्रसाद दाहालको नेतृत्वमा नुवाकोटको विदुर नगरपालिका क्षेत्रमा राहत वितरण, उद्धार तथा सरसफाइका कार्य सञ्चालन भइरहेका छन्।

बाढीबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले महासङ्घका स्वयंसेवकहरू प्रभावित क्षेत्रमा परिचालन भएका छन्। स्वयंसेवकहरूले राहत सामग्री वितरण तथा उद्धारका कामसँगै बाढी प्रभावित क्षेत्रको सरसफाइ र अन्य आवश्यक सहयोगसमेत गर्दै आएका छन्।

विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिन अभियानलाई निरन्तरता दिइएको महासङ्घका अध्यक्ष दाहालले बताएका छन्। उनले विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न स्वयंसेवक तथा सम्बन्धित सबै पक्षलाई मानवीय सेवामा जुट्न आह्वानसमेत गरेका छन्।

महासङ्घले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले मानवीय सहायता अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने नेपाल खेलकुद महासङ्घ सचिव एवम् प्रवक्ता विष्णु पुनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0