पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा उद्योग उपाध्यक्ष पदका उम्मेदवार ललित बहादुर कुँवरले उद्योगी–व्यवसायीका हकहितसँगै पोखरा तथा समग्र क्षेत्रको औद्योगिक विकासलाई प्राथमिकतामा राख्दै आफूले उम्मेदवारी दिएको कुँवरले बताएका छन्। संघको संस्थागत तथा व्यावसायिक सुदृढीकरणमा योगदान पुर्याउने उद्देश्यले चुनावी मैदानमा आएको उनको भनाइ छ।
औद्योगिक क्षेत्रमा देखिएका विद्यमान समस्या र चुनौतीलाई सम्बोधन गर्दै उद्योगी–व्यवसायीका समस्या समाधानका लागि आफू सक्रिय भएर काम गर्ने कुँवरले प्रतिबद्धता जनाएका छन्। उनले उद्योग तथा व्यवसाय क्षेत्रको विकासका लागि संघले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
लामो समयदेखि व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका कुँवरले संघका उद्योगी–व्यवसायी सदस्यबाट प्राप्त उत्साहजनक समर्थन र शुभेच्छाले आफूलाई थप उत्साहित बनाएको बताए।
“उद्योगी–व्यवसायीको विश्वास र साथ नै मेरो उम्मेदवारीको मुख्य आधार हो,” कुँवरले भने, “निर्वाचित भएमा उद्योगी–व्यवसायीका समस्या समाधान तथा संघको संस्थागत सुदृढीकरणका लागि इमानदारीपूर्वक काम गर्नेछु।”
आफूले सदस्यहरूको विश्वास जित्दै राम्रो मतका साथ विजयी हुनेमा कुँवरले विश्वास व्यक्त गरेका छन्। उनले पोखरा उद्योग वाणिज्य संघका सम्पूर्ण सदस्यलाई आफूलाई अमूल्य मत दिएर उद्योग उपाध्यक्षका रूपमा सेवा गर्ने अवसर प्रदान गर्न अपिलसमेत गरेका छन्।
अघिल्लो महाधिवेशनमा १ हजार ५३९ मत प्राप्त गर्दै सदस्य पदमा सर्वाधिक मतसहित निर्वाचित भएको तथ्यलाई पनि उनले व्यवसायीको विश्वासको आधारका रूपमा लिएका छन् । यही अनुभव र व्यवसायीहरूसँग निरन्तर सम्पर्कलाई आगामी निर्वाचनमा आफ्नो बलियो पक्षका रूपमा प्रस्तुत गर्दै कुँवर मतदातामाझ पुगिरहेका छन् ।
बलराम आचार्य नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका कुँवरले घरदैलोका क्रममा सङ्घमा आफ्नो सक्रियता, व्यवसायीहरूसँग व्यक्तिगत सम्बन्ध र विगतमा निर्वाह गरेका जिम्मेवारीका आधारमा व्यवसायीहरुले आफु र आफ्नो टिमलाई साथ दिने प्रतिवद्धता जनाएको उल्लेख गरे ।
३६औँ महाधिवेशनलाई संघको आगामी नेतृत्व चयनसँगै उद्योग तथा व्यवसाय क्षेत्रका मुद्दालाई नयाँ ढंगले अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। संघको महाधिवेशन यही भदौ २० र २१ गते पोखरामा हुँदैछ।















