पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदका उम्मेदवार कमल बहादुर सुनारले व्यवसायीका समस्या समाधानलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। लामो समयदेखि व्यवसायमा सक्रिय रहँदै आएका सुनारले व्यवसायीको वास्तविक समस्या आफूले नजिकबाट बुझेको भन्दै संघमार्फत त्यसको समाधानका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
जय भू.पु. सैनिक सुनचाँदी उद्योग, चिप्लेढुंगाका सञ्चालक सुनारले दोस्रोपटक कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका हुन्। २०४७ सालदेखि सुनचाँदी व्यवसायमा सक्रिय उनले यसअघि संघको कार्यसमिति सदस्यका रूपमा एक कार्यकाल काम गरिसकेका छन्।
‘तपाईंको विश्वास, जिम्मेवारी मेरो, व्यावसायिक हित हाम्रो’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका सुनारले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत स्वार्थका लागि नभई व्यवसायीको हकहित र व्यावसायिक वातावरण सुधारका लागि भएको बताएका छन्।
उनका अनुसार अहिले व्यवसायीले बजारको अस्थिरता, बढ्दो लागत, कर तथा नीतिगत जटिलता, व्यवसाय सञ्चालनका चुनौतीलगायत विभिन्न समस्या भोगिरहेका छन्। यस्ता समस्या समाधानका लागि उद्योग वाणिज्य संघले सरकार तथा सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र दबाब सिर्जना गर्नुपर्ने उनको धारणा छ।
‘व्यवसायीलाई समस्या पर्दा संघ सम्झिने मात्र होइन, समस्या आउनुअघि नै व्यवसायीको आवाज सम्बन्धित निकायसम्म पुर्याउने नेतृत्व आवश्यक छ,’ सुनारले भने। आफू निर्वाचित भए व्यवसायीका गुनासा सुन्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने उनको प्रतिबद्धता छ।
सुनारले सुनचाँदी व्यवसायीका मुद्दालाई मात्रै नभई पोखराका सबै क्षेत्रका उद्योगी–व्यवसायीको साझा समस्यालाई प्राथमिकतामा राख्ने बताएका छन्। खुला सदस्यका रूपमा उम्मेदवारी दिएका उनले साना, मझौला तथा ठूला व्यवसायीबीच सहकार्य बढाउँदै व्यावसायिक वातावरण निर्माण गर्न आफूले भूमिका खेल्ने बताए।
लामो व्यावसायिक अनुभव, संघको कार्यसमितिमा रहेर काम गरेको अनुभव तथा विभिन्न संघसंस्थामा काम गरेको अनुभवलाई व्यवसायीको पक्षमा प्रयोग गर्ने सुनारको भनाइ छ। सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका उनले व्यवसायीको विश्वासलाई जिम्मेवारीमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।
यसपटक सुनारसहित कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका आठ जनाले संयुक्त रूपमा प्रचार प्रसारमा जुटेका छन् । व्यवसायीको हकहित र समृद्धिका लागि आफ्नो टिमलाई अत्यधिक मतका साथ विजयी गराउन उनले आग्रह गरेका छन्। उनी अहिले टिमसहित व्यवसायीका घरदैलोमा पुगेर आफ्ना एजेन्डा र प्रतिबद्धता प्रस्तुत गर्दै मत मागिरहेका छन्।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ। महाधिवेशनमा कुल २ हजार ७ सय ३१ मतदाता रहेका छन्।















