पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै गर्दा महासचिव पदको निर्वाचनमा सुदीप प्रधानाङ्गको उम्मेदवारी चर्चामा आएको छ। लामो समयदेखि व्यवसायमा सक्रिय प्रधानाङ्गले महासचिवमा निर्वाचित भए उद्योगी–व्यवसायीका समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधान गर्ने र पोखरामा रहेका व्यावसायिक अवसरलाई परिणाममा बदल्ने एजेन्डा अघि सारेका छन्।

विगत १५ वर्षदेखि हार्डवेयर व्यवसायमा संलग्न प्रधानाङ विरौटा हार्डवेयर एण्ड सेनेटरीका सञ्चालक हुन्। व्यवसाय सञ्चालनका क्रममा भोगेका उतारचढाव र उद्योगी–व्यवसायीका दैनिक समस्या नजिकबाट बुझेको अनुभवलाई संघको नेतृत्वमा प्रयोग गर्ने उनको दाबी छ। ‘व्यवसायीको समस्या सुन्ने मात्र होइन, समाधानका लागि परिणाम निकाल्ने’ उनको मुख्य चुनावी सन्देश हो।

प्रधानाङ्गका अनुसार अहिले पोखराका साना तथा ठूला व्यवसायी अनेकौँ चुनौतीबीच व्यवसाय सञ्चालन गरिरहेका छन्। बजारको अनिश्चितता, लगानीको वातावरण, व्यवसाय सञ्चालनका कठिनाइदेखि समय–समयमा आइपर्ने असामान्य परिस्थितिसम्मले निजी क्षेत्र प्रभावित हुँदै आएको उनको भनाइ छ।

‘समस्या एउटा मात्रै हुँदैन। हिजो कोभिड थियो, कुनै बेला नाकाबन्दी आयो। भोलि कस्तो चुनौती आउँछ, थाहा छैन’ प्रधानाङ्ग भन्छन्, ‘तर चुनौती जस्तोसुकै भए पनि व्यवसायीको समस्यासँगै उभिने नेतृत्व आवश्यक छ। म त्यही भूमिकामा आफूलाई उभ्याउन चाहन्छु।’

प्रधानाङ्ग ६ वर्षअघि संघको ३३औँ महाधिवेशनबाट कार्यसमिति सदस्यका रूपमा संघको नेतृत्वमा प्रवेश गरेका थिए। त्यसबेला उनी तुलनात्मक रूपमा नयाँ अनुहार थिए। ‘भर्खरको केटो, यो आउँछ र भन्नेहरू पनि थिए,’ उनी विगत सम्झन्छन्, ‘तर उद्योगी–व्यवसायीले विश्वास गर्नुभयो, माया र साथ दिनुभयो। त्यही विश्वासले मलाई यहाँसम्म ल्याएको हो।’

३४औँ महाधिवेशनमा पदाधिकारी बन्ने इच्छा हुँदाहुँदै पनि संघमा थप अनुभव लिनुपर्ने सुझावलाई स्वीकार गर्दै उनी पुनः सदस्य पदमै रहे। लगातार दुई कार्यकाल कार्यसमिति सदस्य भएर काम गरेपछि ३५औँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भए।

उपमहासचिवका रूपमा काम गर्दा महासचिवको व्यस्तता वा अनुपस्थितिका समयमा संघका विभिन्न जिम्मेवारी सम्हाल्ने अवसर पाएको र ती जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरेको उनको दाबी छ। त्यही अनुभवलाई आधार बनाएर अहिले महासचिव पदमा आफू स्वाभाविक रूपमा अघि बढेको प्रधानाङ्ग बताउँछन्।

प्रधानाङ्ग आफ्नो राजनीतिक तथा व्यवसायिक यात्राको सबैभन्दा महत्वपूर्ण पूँजी व्यवसायीको विश्वासलाई मान्छन्। ‘कहिलेकाहीँ अँध्यारो हुरीबतासको रातमा छायाले पनि साथ छोड्छ। तर त्यस्तो अवस्थामा पनि आम व्यवसायीले मेरो साथ छोड्नुभएन,’ उनी भन्छन्, ‘त्यही विश्वास मेरो शक्ति हो।’

उनका लागि महासचिवको उम्मेदवारी केवल पद प्राप्त गर्ने प्रयास नभई संघमा आफूले पाएको जिम्मेवारीलाई अर्को चरणमा लैजाने अवसर हो। सानो–सानो पाइला चाल्दै संस्थागत रूपमा बलियो बन्ने र परिणाम दिने नेतृत्व आवश्यक रहेको उनको तर्क छ। प्रधानाङ्गले पोखराको निजी क्षेत्रले समस्यासँगै सम्भावना र अवसर पनि खोज्नुपर्ने बताएका छन्।

उनका अनुसार पोखरामा पर्यटन, व्यापार, सेवा तथा विभिन्न व्यवसायिक गतिविधिका लागि ठूलो सम्भावना रहे पनि उपलब्ध अवसरलाई पर्याप्त रूपमा उपयोग गर्न नसकिएको अवस्था छ।

‘यहाँ समस्या मात्रै छैन, अवसर पनि छ,’ उनी भन्छन्, ‘त्यो अवसर पहिचान गरेर उपयोग गर्न सक्यौँ भने व्यवसाय विस्तारसँगै रोजगारी र आर्थिक गतिविधि पनि बढाउन सकिन्छ।’

मित्रराष्ट्रबाट पोखरा आउने व्यवसायीहरूले समेत यहाँको आर्थिक सम्भावनालाई औँल्याउने गरेको प्रसंग उल्लेख गर्दै उनले पोखराको सम्भावनालाई व्यवसायिक परिणाममा बदल्न संघले सक्रिय भूमिका खेल्नुपर्ने बताए। प्रधानाङ्गले आफ्नो नेतृत्वको प्राथमिकता समस्याको तत्काल प्रतिक्रिया दिनेभन्दा दीर्घकालीन समाधान खोज्ने रहेको बताएका छन्।

व्यवसायीका समस्यालाई वर्गीकरण गरी प्राथमिकता निर्धारण गर्ने, सम्बन्धित निकायसँग संवाद र सहकार्य बढाउने तथा समाधानका लागि संस्थागत पहल गर्ने उनको योजना छ। उनले संघलाई केवल कार्यक्रम र बैठकमा सीमित नराखी व्यवसायीले वास्तविक रूपमा अनुभूति गर्ने संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

‘व्यवसायीलाई अप्ठ्यारो पर्दा संघ कहाँ छ भन्ने प्रश्न उठ्न नदिने गरी काम गर्नुपर्छ,’ प्रधानाङको भनाइ छ। प्रधानाङ्ग बलराम आचार्य नेतृत्वको समूहबाट महासचिव पदमा चुनावी मैदानमा छन्। घरदैलो अभियानका क्रममा उद्योगी–व्यवसायीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको भन्दै उनले आफ्नो उम्मेदवारीप्रति उत्साह बढेको बताए।

अब उनको चुनावी लक्ष्य स्पष्ट छ—अनुभवलाई नेतृत्वमा बदल्ने, व्यवसायीको आवाजलाई संस्थागत बनाउने र समस्या समाधानमा संघलाई परिणाममुखी बनाउने।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ। महाधिवेशनमा कुल २ हजार ७ सय ३१ मतदाता रहेका छन्। प्रधानाङले महासचिव पदमा आफूलाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण उद्योगी–व्यवसायी सदस्यसँग आग्रह गरेका छन्।

‘म सँग ठूलो दाबीभन्दा काम गर्ने प्रतिबद्धता छ। व्यवसायीले दिएको विश्वासलाई कहिल्यै कमजोर हुन दिने छैन,’ उनी भन्छन्, ‘आफ्नो क्षमताले भ्याएसम्म उद्योगी–व्यवसायीको हितमा पूर्ण रूपमा समर्पित भएर काम गर्नेछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0