पोखरा । पोखरा उद्योग वाणिज्य संघको यहीं भदौ २० र २१ गते हुने ३६ औँ महाधिवेशनमा उद्योग उपाध्यक्ष पदका प्रत्यासी ललित बहादुर कुँवरले साना उद्योगदेखि नयाँ लगानीसम्मलाई आफ्नो चुनावी एजेन्डामा समेटेका छन् ।

उद्योगी–व्यवसायीको हित संरक्षणसँगै साना, मझौला तथा घरेलु उद्योगको प्रवर्द्धन, नयाँ लगानी भित्र्याउने वातावरण निर्माण र व्यवसायिक एकतालाई प्राथमिकतामा उनले बताएका छन् । बलराम आचार्य नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका कुँवरले पोखरालाई व्यापार, उद्योग, पर्यटन तथा उद्यमशीलताको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने एजेन्डा अघि सारेका छन्।

खाद्यान्न, कृषि तथा पर्यटन व्यवसायमा सक्रिय कुँवरले आफू निर्वाचित भए उद्योगी–व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने बताएका छन्। विशेषगरी साना तथा मझौला व्यवसायी र घरेलु उद्योगलाई प्रोत्साहन गर्दै उनीहरूको व्यवसाय विस्तारका लागि आवश्यक वातावरण निर्माण गर्ने उनको योजना छ।

पोखरामा नयाँ लगानी भित्र्याउन लगानीमैत्री वातावरण आवश्यक रहेको भन्दै कुँवरले त्यसका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उद्योग तथा व्यवसाय क्षेत्रको विकासले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने भन्दै उनले निजी क्षेत्रलाई बलियो बनाउन आफूले भूमिका खेल्ने बताएका छन्।

‘उद्योगी व्यवसायी बलियो भए अर्थतन्त्र बलियो हुन्छ, अर्थतन्त्र बलियो भए देश समृद्ध हुन्छ’ भन्ने नाराका साथ आफू अघि बढेको कुँवरले बताएका छन्। व्यवसायीबीचको एकता र सहकार्यलाई बलियो बनाउँदै उद्योगी–व्यवसायीका साझा समस्या समाधानका लागि आवाज उठाउने उनको भनाइ छ।

कुँवरले आफ्नो उम्मेदवारी कुनै पूर्वअध्यक्षको व्यक्तिगत समर्थन वा प्रभावका आधारमा नभएको बताएका छन्। साधारण किसान परिवारबाट व्यवसायमा प्रवेश गरेको उल्लेख गर्दै उनले आफ्नो परिचय आफूले गरेको काम नै भएको बताएका छन्। आम व्यवसायीको साथ, सहयोग र हौसलाले उद्योग उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको उनको भनाइ छ।

सङ्घका बैठक तथा विभिन्न कार्यक्रममा आफूले गर्दै आएको सक्रिय सहभागिता र निर्वाह गरेको भूमिकालाई उनले आफ्नो उम्मेदवारीको मुख्य आधारका रूपमा प्रस्तुत गरेका छन्। आम व्यवसायीले आफूले सङ्घका कार्यक्रममा जनाएको उपस्थिति, सहभागिता र कामको मूल्याङ्कन गर्ने विश्वास उनको छ।

राष्ट्रिय औद्योगिक व्यापार मेलामा सांस्कृतिक समितिको संयोजकको जिम्मेवारी निर्वाह गर्दा अर्थ संकलनलगायतका काममा महत्वपूर्ण भूमिका खेलेको उनले बताएका छन्। सङ्घका गतिविधिमा निरन्तर सक्रिय रहँदै आएको अनुभवलाई आगामी कार्यकालमा उद्योगी–व्यवसायीको हितमा प्रयोग गर्ने उनको प्रतिबद्धता छ।

२०५७ सालदेखि व्यवसाय क्षेत्रमा प्रवेश गरेका कुँवरले इलेक्ट्रोनिक्स व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए। त्यसपछि खाद्यान्न, कृषि तथा पर्यटन क्षेत्रमा समेत लगानी र संलग्नता विस्तार गर्दै आएका छन्। उनी होटल लुना, लालुपाते कृषि फर्म र आभाष ट्रेडर्सलगायतका व्यवसायिक प्रतिष्ठानसँग जोडिएका छन्।

दीर्घ व्यावसायिक अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्दै उद्योग तथा व्यवसाय क्षेत्रको प्रवर्द्धन र संरक्षणमा काम गर्ने कुँवरले बताएका छन्। पोखराको आर्थिक गतिविधिलाई थप गतिशील बनाउँदै उद्यमशीलता विकासका लागि आवश्यक वातावरण निर्माण गर्ने उनको योजना छ।

उनले आफ्ना एजेन्डा र योजनालाई कार्यान्वयन गर्न उद्योगी–व्यवसायीसमक्ष अमूल्य मत प्रदान गरी विजयी गराउन आग्रह गरेका छन्। महाधिवेशनमा कुल २ हजार ७ सय ३१ मतदाता रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0