पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनमा कार्यसमिति सदस्य पदका उम्मेदवार मनोहरी पौडेलले व्यवसायीको हकहित संरक्षण, संस्थागत सुदृढीकरण र व्यवसायीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर आफ्नो उम्मेदवारी दिएको बताएका छन्।
बुद्ध विशाल बजारस्थित टुईन्स कलेक्सनका सञ्चालकसमेत रहेका पौडेल लामो समयदेखि व्यापार–व्यवसायसँगै सामाजिक तथा संस्थागत क्षेत्रमा सक्रिय छन्। उनी हाल बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनका उपाध्यक्षका रूपमा कार्यरत छन्।
पौडेलले आर्थिक वर्ष २०८२/८३ मा पोखरा उद्योग वाणिज्य संघको मनोनीत कार्यसमिति सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। उक्त जिम्मेवारीका क्रममा संघको मेला प्रचारप्रसार समितिको संयोजक भएर संस्थाका गतिविधि तथा कार्यक्रमलाई प्रभावकारी बनाउन योगदान गर्ने अवसर पाएको उनले बताए।
‘संघसँगको आफ्नो संलग्नता र अनुभवलाई थप प्रभावकारी बनाउँदै व्यवसायीका साझा समस्या उठाउन उम्मेदवारी दिएको हुँ,’ पौडेलले भने।
व्यवसायीका समस्या नजिकबाट बुझेको बताउँदै पौडेलले सङ्घलाई थप सक्रिय, व्यवसायीमैत्री र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए। व्यवसायीको हकहित संरक्षण, व्यावसायिक एकता तथा संघको संस्थागत सुदृढीकरणलाई आफूले प्राथमिकतामा राख्ने उनको भनाइ छ।
पौडेल सामाजिक तथा धार्मिक गतिविधिमा समेत सक्रिय छन्। उनी त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखराका अध्यक्ष तथा सुकमैदान सिर्जनशील युवा क्लब पोखरा–२८ का संस्थापक अध्यक्ष हुन्। त्यस्तै, शीतलज्योति युवा क्लब पोखरा–१२ का सल्लाहकार तथा पोखरा उद्योग वाणिज्य संघअन्तर्गतका विभिन्न वस्तुगत संगठनमा प्रेस सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन्।
त्यसैगरी, पौडेल फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका साधारण सदस्य, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ कास्कीका पूर्व सदस्य तथा प्रेस संयोजक र चापापानी सिद्धार्थ सहकारी संस्था पोखरा–१२ का शिक्षा संयोजक तथा सञ्चालक समिति सदस्यका रूपमा समेत आबद्ध भइसकेका छन्।
पत्रकारितामा समेत सक्रिय पौडेल नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश परिषद् सदस्य हुन्। व्यवसाय, सामाजिक सेवा र सञ्चार क्षेत्रमा हासिल गरेको अनुभवलाई उद्योग वाणिज्य संघमार्फत व्यवसायीको हितमा उपयोग गर्ने उनको प्रतिबद्धता छ।
‘संघमा प्रतिनिधित्व पदका लागि मात्र होइन, व्यवसायीका समस्या सुन्न, आवाज उठाउन र समाधानका लागि काम गर्न हुनुपर्छ,’ पौडेलले भने।
उनले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत पद प्राप्तिका लागि मात्र नभई उद्योगी–व्यवसायीको हकहित, संस्थागत सुदृढीकरण, व्यवसायीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रका साझा मुद्दाको प्रभावकारी पैरवीका लागि भएको बताए।
पौडेलले निर्वाचनमा सम्पूर्ण उद्योगी–व्यवसायीको अमूल्य मत, सहयोग र विश्वासको अपेक्षा गर्दै निर्वाचित भए इमानदारी, सक्रियता र जिम्मेवारीका साथ संघको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसपटक पौडेलसहित कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका आठ जनाले संयुक्त रूपमा प्रचार प्रसारमा जुटेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ। महाधिवेशनमा कुल २ हजार ७ सय ३१ मतदाता रहेका छन्।















