पोखरा । गण्डकी प्रदेशका नवनियुक्त ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले बदलिएको राजनीतिक परिस्थितिका कारण आफू पुनः सरकारमा सहभागी भएको बताएका छन् । बुधबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि प्रतिक्रिया दिँदै मन्त्री देवकोटाले यसअघि आफूले जिम्मेवारीबाट हट्ने निर्णय पनि तत्कालीन राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर गरेको दाबी गरे ।
नेतृत्वलाई सहज बनाउन र सरकारलाई ‘ट्र्याकमा ल्याउन’ मद्दत पुगोस् भन्ने उद्देश्यले आफूले त्यतिबेला राजीनामा दिएको उनको भनाइ छ ।देवकोटाले गण्डकी प्रदेश सरकार आफ्नो पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबीसमेत गरे । प्रदेश सरकारको स्थायित्व र संघीयताको सुदृढीकरण अहिलेको प्रमुख आवश्यकता रहेको उनले बताए ।
यसअघि मन्त्री पदबाट राजीनामा दिएर ‘भागेको’ भन्ने आलोचना हुने गरेको प्रसंग उल्लेख गर्दै देवकोटाले त्यतिबेलाको राजनीतिक आवश्यकताअनुसार आफूले गरेको निर्णय गलत नभएको जिकिर गरे ।
मन्त्री देवकोटाले आफूले पाएको मन्त्रालयको जिम्मेवारीअनुसार सरकारले ल्याएको बजेट कार्यान्वयनलाई प्राथमिकतामा राख्ने बताए । प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जनताका अपेक्षा पूरा गर्ने उनको भनाइ छ ।
केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच गठबन्धन बनेपछि गण्डकी प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीले भदौ १० गते राजीनामा दिएका थिए । त्यसपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गर्दै देवकोटालाई पुनः ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् ।
यसैगरी ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।















