पोखरा । पोखरा महानगरपालिका–५ प्रस्याङस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिरको पुनःनिर्माणका लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ।प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सुरु भएको महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञको पहिलो दिन बुधबार बिहान शान्ति कलश यात्रा निकालिएको थियो।
महायज्ञ उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति तथा वरिष्ठ समाजसेवी प्रा.डा. भरतबहादुर खत्रीले धार्मिक तथा सामाजिक कार्यमा आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए। आत्मसन्तुष्टिका लागि समेत सामाजिक कार्यमा योगदान आवश्यक रहेको उल्लेख गर्दै उनले सहयोग सानो–ठूलो नहुने धारणा राखे।
पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले वडावासीको एकताका कारण वडा नम्बर ५ ले सञ्चालन गरेका विभिन्न कार्यक्रम सफल हुँदै आएको बताए। सबै एक ठाउँमा उभिएर अघि बढे जुनसुकै काम पनि सफल बनाउन सकिने भन्दै उनले महायज्ञका अवसरमा निकालिएको शान्ति कलश यात्राले समेत एकताको सन्देश दिएको बताए। पवित्र उद्देश्यका साथ आयोजना गरिएको महायज्ञ मनकारी व्यक्तिहरूको बसोबास रहेको वडा भएकाले भव्य रूपमा सफल हुने विश्वास उनले व्यक्त गरे।
महायज्ञमा संगीतमय श्रीमद्भागवत कथा प्रवचनसँगै विभिन्न देवलिला तथा धार्मिक कार्यक्रम सञ्चालन हुनेछन्। महायज्ञका प्रमुख वाचक पण्डित दीपकप्रसाद पौडेल रहेका छन्। उनले महायज्ञ आयोजना गरेकामा आयोजकलाई धन्यवाद दिँदै शान्तिको कामनाका साथ गरिने धार्मिक गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद पराजुलीले सन्तानेश्वर महादेव मन्दिर निर्माण अभियानलाई सबैको साझा दायित्वका रूपमा अघि बढाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए। उनले सक्ने सबैलाई दिल खोलेर सहयोग गर्न आग्रह गरे। महायज्ञले प्रस्याङको धार्मिक पहिचान, संस्कार र संस्कृतिको संरक्षणमा समेत योगदान पुर्याउने उनको भनाइ छ।
महायज्ञ प्रचारप्रसार समिति संयोजक लक्ष्मण बरालका अनुसार पहिलो दिनमै ७० लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ। पहिलो दिन सन्तानेश्वर महादेव मन्दिर संरक्षक परिवारका दाताहरू सुरेशचन्द्र कोइराला, शान्तिकुमारी कोइराला, सूर्य कोइराला, लक्ष्मणप्रसाद कोइराला र सुवासचन्द्र कोइरालाबाट ३५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।
त्यस्तै, मन्दिर व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद पराजुलीसहित श्रीराम पराजुली, शम्भु पराजुली, पुरुषोत्तम पराजुली र विश्वनाथ पराजुलीबाट एकमुष्ट ५ लाख ५ हजार रुपैयाँ तथा कार्यसमिति, व्यवस्थापन समिति र शुभेच्छुकबाट ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको बरालले जानकारी दिए।
उनका अनुसार महायज्ञलाई धार्मिक आस्था, सामाजिक एकता र सामुदायिक सहभागिताको अभियानका रूपमा अघि बढाइएको छ। उनले श्रद्धालु, स्थानीयवासी तथा शुभेच्छुकलाई परिवारसहित सहभागी भएर कथा श्रवण गर्न र मन्दिर निर्माण अभियानमा सहयोग गर्न आग्रह गरे।
महायज्ञबाट संकलन हुने रकममध्ये केही हिस्सा भोटेकोशी बाढीपीडितलाई सहयोग गरिने पनि प्रचारप्रसार समिति संयोजक बरालले जानकारी दिए।
कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय लभ्लीहिलकी प्रमुख सुधा दिदी, अग्रज समाजसेवी हेरम्बप्रसाद कोइराला, संस्थापक परिवारका सदस्य सुरेशचन्द्र कोइराला, अर्थ समिति संयोजक केशव अधिकारी, प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिका उपाध्यक्ष विजयलक्ष्मी कोइराला र सचिव लक्ष्मण कोइरालालगायतले मन्तव्य राखेका थिए ।
सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास रहँदै आएको छ। मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले चार ढोका र पञ्चमुखी शिवलिङ्गसहितको विशाल शिवालय निर्माणको काम अघि बढाइएको छ। निर्माणाधीन मन्दिरलाई पूर्णता दिन महायज्ञमार्फत श्रद्धालु तथा शुभेच्छुकबाट आर्थिक सहयोग जुटाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।















