पोखरा । रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै रगतको अभावमा रहेका बिरामीलाई सहयोग गर्ने उद्देश्यले पोखरामा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएको छ। आइतबार आयोजित कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ। इनर ह्वील क्लब अफ डिष्ट्रिक्ट ३५० नेपालअन्तर्गतका इनर ह्वील क्लब अफ अन्नपूर्ण, इनर ह्वील क्लब अफ पोखरा मिड–टाउन, इनर ह्वील क्लब अफ पोखरा, इनर ह्वील क्लब अफ न्युरोड पोखरा र इनर ह्वील क्लब अफ अन्नपूर्णा जुभेनाइल्स जोनको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।
पोखरा महानगरपालिका–१८ स्थित लभ्ली हिलमा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय दिव्य युवा समूहको शाखा परिसरमा आयोजित कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय दिव्य युवा समूहकी शाखा प्रमुख राजयोगिनी सुधा दिदीले पहिलो रक्तदाता शान्ति उदासलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेकी थिइन्।
कार्यक्रममा बोल्दै राजयोगिनी सुधा दिदीले रगतको अभाव भइरहेको अवस्थामा इनर ह्वील क्लबले रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरिन्। बाढीपहिरोलगायत विभिन्न कारणले रगतको अभाव भइरहेको समयमा कार्यक्रमले केही राहत पुग्ने विश्वास उनको थियो।
इनर ह्वील क्लब अफ पोखरा मिड–टाउनकी अध्यक्ष भावना रानाभाटले भदौ १० गतेको घटनापछि रगतको अभाव भएको महसुस गरी त्यसलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन्। मानव सेवामा समर्पित इनर ह्वील क्लबले असहाय बालबालिका, ज्येष्ठ नागरिकलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको उनको भनाइ छ।
त्यस्तै, इनर ह्वील क्लब अफ पोखराकी अध्यक्ष निरुदेवी कायस्थले क्लबले निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताइन्। रक्तदानसँगै बालबालिका, वृद्धाश्रम तथा आवश्यकता भएका विभिन्न क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिइन्।
रक्तदानसँगै समुदायमा रक्तदानको महत्वबारे सकारात्मक सन्देश प्रवाह गर्ने र नियमित रक्तदानका लागि प्रेरित गर्ने उद्देश्यसमेत कार्यक्रमको रहेको इनर ह्वील क्लब अफ अन्नपूर्णकी अध्यक्ष अनिता पराजुलीले बताइन्। उनले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
कार्यक्रममा इनर ह्वील क्लब अफ न्युरोड पोखरा अध्यक्ष मन्जु केसी, इनर ह्वील क्लब अफ अन्नपूर्णा जुभेनाइल्स अध्यक्ष शिरिष बज्राचार्य, प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र पोखराकी प्राविधिक यमुना केसी, कार्यक्रमका सहसंयोजक नेत्रप्रसाद ढकाललगायतले रक्तदानको महत्व र नियमित रक्तदानबाट हुने सामाजिक योगदानबारे धारणा राखेका थिए।
रक्तदान कार्यक्रममा प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, पोखरा–८, सिमलचौरले प्राविधिक सहयोग गरेको थियो। ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय र युथ लिग ग्रुप लभ्ली हिल पोखरा–१८ ले कार्यक्रमलाई सहयोग गरेका थिए।















