पोखरा । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले नयाँ तीज गीत ‘कर्कलो गाभाले’ सार्वजनिक गरेका छन्।

चन्दन डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा रहेको गीतमा घिमिरेकै शब्द तथा लय रहेको छ भने महिला स्वर सीमा नेपालीले दिएकी छन्। मञ्जरी लाइभ स्टुडियो काठमाडौंले निर्माण गरेको गीतको भिडियो केशव घिमिरे अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

महिलालाई केन्द्रमा राखेर तयार पारिएको गीतमा विवाहपछि माइतीघर छाडेर पराईघर जानुपर्ने नारीको बाध्यता र बुहारी बनेपछि भोग्नुपर्ने दुःख, पीडा तथा मनका भावनालाई प्रस्तुत गरिएको छ। माइतीघरमै बसिरहने चाहना हुँदाहुँदै विवाह गरेर पराईघर जानुपर्दाको अवस्थालाई एउटी नारीले आफ्ना बाबा–आमासमक्ष पोखेको भाव गीतको कथा र प्रस्तुतिमा समेटिएको छ।

पर्वतको कार्कीनेटामा जन्मिएका घिमिरे हाल पोखरालाई कर्मथलो बनाएर व्यवसायसँगै संगीत क्षेत्रमा सक्रिय छन्। उनी विगत दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर क्रियाशील छन्। घिमिरेका अनुसार उनले हालसम्म करिब दुई सयभन्दा बढी गीत बजारमा ल्याइसकेका छन्।

तीजको मौलिक भाव, महिलाका पीडा र सामाजिक यथार्थलाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको ‘कर्कलो गाभाले’ ले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गरिएको छ। सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय घिमिरेले पछिल्लो सिर्जना ‘कर्कलो गाभाले’ हेरेर सुझाब दिन आग्रह समेत गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0