पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ ले ज्येष्ठ नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि टोल–टोलमै पुगेर घुम्ती सेवा सञ्चालन गरेको छ। सेवाग्राहीलाई आफ्नै वडा तथा टोलमा सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले वडाले तीनवटा ज्येष्ठ नागरिक मिलन केन्द्रमा पुगेर नवीकरण सेवा प्रदान गरिरहेको हो। सोमबार प्रस्याङ बगैँचा ज्येष्ठ नागरिक मिलन केन्द्रबाट सुरु भएको अभियानअन्तर्गत मंगलबार गोल चौतारा ज्येष्ठ नागरिक मिलन केन्द्रमा सेवा प्रदान गरिएको थियो भने बुधबार मनकामना ज्येष्ठ नागरिक मिलन केन्द्रमा घुम्ती सेवा सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।
वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालका अनुसार सरकारले साउन, भदौ र असोज महिनालाई सामाजिक सुरक्षा भत्ता नवीकरणको समय तोके पनि हालसम्म धेरै सेवाग्राहीले नवीकरण नगरेको पाइएपछि वडा कार्यालयले टोलमै पुगेर सेवा दिन थालेको हो।
वडाध्यक्ष बरालले पोखरा–५ मा बसोबास गर्ने नेपालका ७७ वटै जिल्लाका नागरिकले वडाबाटै सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सक्ने बताए। नवीकरणका लागि आफ्नो स्थायी जिल्ला वा सम्बन्धित पालिकामा जानुपर्ने झन्झट अन्त्य गर्न अभियान सञ्चालन गरिएको उनको भनाइ छ।
उनले नवीकरणका लागि नागरिकताको प्रमाणपत्र र सामाजिक सुरक्षा भत्ता कार्डसहित सम्बन्धित ज्येष्ठ नागरिक मिलन केन्द्रमा उपस्थित हुन आग्रह गरे। अशक्त तथा घरबाट बाहिर निस्कन नसक्ने सेवाग्राहीको हकमा भने घरमै पुगेर नवीकरण सेवा प्रदान गरिने उनले जानकारी दिए।
ज्येष्ठ नागरिक केन्द्र पोखरा–५ का अध्यक्ष विश्वनाथ पराजुलीले ज्येष्ठ नागरिक मिलन केन्द्रमै पुगेर वडाले नवीकरण सेवा प्रदान गरेकोमा जनप्रतिनिधि तथा वडा कार्यालयलाई धन्यवाद दिए। केन्द्रमै आएर सेवा उपलब्ध हुँदा ज्येष्ठ नागरिकलाई निकै सहज भएको उनले बताए।
त्यस्तै, गतिशील महिला आमा समूहकी अध्यक्ष तारा बरालले आफूहरूले सञ्चालन गर्दै आएको ज्येष्ठ नागरिक मिलन केन्द्रमै वडा कार्यालय आएर सेवा प्रदान गरेकोमा खुसी व्यक्त गरिन्। उनले आगामी वर्षदेखि यस्ता सेवा अझ समयमै सञ्चालन गर्न वडा कार्यालयलाई सुझाव दिइन्।
वडा जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा सञ्चालन भइरहेको घुम्ती सेवाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि सेवाग्राहीले टाढा जानुपर्ने बाध्यता हटाउनुका साथै ज्येष्ठ नागरिकलाई स्थानीय स्तरमै सहज सेवा प्राप्त भएको छ। वडामा ज्येष्ठ नागरिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राही हाल ५ सय २ जना रहेको वडासचिव लक्ष्मण शर्माले जानकारी दिए ।














