पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले असोज पहिलो साताबाट पुन: पर्यटन सेवा शुल्क उठाउने तयारी गरेको छ । यसअगाडि गत कार्तिक १० गते सूचना प्रकाशित गरेर पर्यटन सेवा शुल्क उठाउने कार्य गरेको गाउँपालिकाले यो कार्यलाई निरन्तरता दिने जनाएको हो ।

झण्डै दुई महिनाको हाराहारीमा गत वर्ष यो कार्यक्रम सञ्चालन गर्दा २० लाख रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको थियो । पछि विवादका कारण यो रोकिएको थियो । गाउँपालिकाले यो वर्ष पर्यटन शुल्कमा भने हेरफेर गरेको प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्याल बताए । अर्यालले जिल्ला समन्वय समिति कास्कीले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा गाउँपालिकाको प्रतिवेदन प्रस्तुत गर्दै यो विषयमा खुलाएका हुन् ।

‘बाह्य पर्यटकको लागि २ सय रुपैयाँ र आन्तरिक पर्यटकको लागि १ सय रुपैयाँ भनेर रेट कायम भएको छ, उठाउन सुरु भएको छैन, असोजको पहिलो हप्ताबाट यो पनि सुरुवात गर्ने, नयाँ किसिमको राजश्वको स्रोत खोजेको भनेको यो छ’ उनले भने ।

गत वर्ष मर्दी पर्यटन पदमार्गमा १५ लाख २५ हजार राजश्व सङ्कलन भएको जनाइएको छ । शुल्क बुझाउनेमा आन्तरिक पर्यटक ५ हजार ५ सय जना र विदेशी पर्यटक १ हजार ९ सय ५० जना रहेका थिए ।

यसैगरी खुमै पदमार्गबाट ४ लाख ८० हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो । शुल्क बुझाउनेमा आन्तरिक पर्यटक ४ हजार ५ सय ५० जना र विदेशी पर्यटक १ सय जना थिए । दुवै पदमार्गबाट गरेर कुल २० लाख ५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जनाए। त्यतिबेला विदेशी पर्यटकबाट ५ सय र आन्तरिक पर्यटकबाट १ सय रुपैयाँ लिइएको थियो ।

पर्यटन शुल्क लिने कार्यको पर्यटन व्यवसायी लगायतले भने विरोध गर्दै आएका छन् । पालिकाका पदमार्गहरूको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधालाई ध्यानमा राखी पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहोर मैला व्यवस्थापन लगायतका सुविधाहरू निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिनु परेको गाउँपालिकाले बताउने गरेको छ ।

गएको वर्ष गाउँपालिकाले स्थापना गरेको पर्यटक सूचना केन्द्रमा तोडफोड समेत भएको थियो । शुल्क र सूचना सङ्कलनको लागि दुईजना कर्मचारी खटिएकोमा अस्थायी टहरामा तोडफोड र कागजात समेत व्यवसायीले खोसेर लगेपछि उनीहरु फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0