पोखरा । नेपाल पत्रकार महासङ्घको आगामी असोज ५ गते तय भएको निर्वाचनको पूर्वसन्ध्यामा महासङ्घका अध्यक्ष विपुल पोखरेलको राजीनामा र त्यससँगै विकसित घटनाक्रमप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
चौतारीले मङ्गलबार विज्ञप्ति प्रकाशित गरि घोषित मिति असोज ५ गते नै निर्वाचन गर्न माग गरेको छ ।
“यस घटनाका पछाडिका कारण र रहस्य समयक्रमसँगै उद्घाटित हुँदै जाने नै छ। पटक-पटक निर्वाचन स्थगित भई अन्योल उत्पन्न भएको स्थितिमा महासङ्घ र सरोकारवाला सङ्गठनहरूबीचमा भएको समझदारी अनुसार पछिल्लोपटक असोज ५ गतेका लागि निर्वाचनको मिति तय भएको विदितै छ। कुनैपनि घटनाक्रमबाट प्रभावित नभई घोषित मिति आगामी असोज ५ गते निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रकाशन लगायत आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सम्बद्ध सबै पक्षलाई प्रेस चौतारी नेपाल अपील गर्दछ ।” महासचिव हिरामान लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
महासङ्घ अध्यक्ष पोखरेलले सोमबार पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा सँगै निर्वाचन पुन: अनिश्चित बनेको छ ।