पोखरा। पोखरामा सम्पन्न इन्टर रिकभरीङ फुटसल प्रतियोगितामा पोखरा फेलोसिप च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा मंगलबार भएको फाइनल खेलमा लमजुङ फेलोसिपलाई ३–० गोल अन्तरले पराजित गर्दै पोखरा फेलोसिप च्याम्पियन बनेको हो ।

पोखराको जितमा कुशल परियारले २ गोल गरे भने राजेश खाँडले १ गोलको योगदान दिए । उपाधिसँगै पोखरालाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त भयो । यस्तै उपविजेता बनेको लमजुङ फेलोसिपले नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र जित्यो ।

काठमाडौँ, बुटबल, लमजुङ, बागलुङ लगायतका जिल्ला गरी कुल १५ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट पोखरा फेलोसिपका राजेश खाँड सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै सन्जोग क्षेत्री घोषित भए भने, सर्वाधिक गोलकर्ताका रुपमा लमजुङ फेलोसिपका सरोज गुरुङ पुरस्कृत भए ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका कफी डि हिमालयका सञ्चालक शङ्कर गुरुङ, रिकभरिङ नेपालका निवर्तमान अध्यक्ष शिव न्यौपाने, युवा नेता आसिक गुरुङ, समाजसेवी विजया गुरुङ तथा सहयोगदाताहरूलाई पुरस्कार वितरण गरेका थिए ।

लागूऔषध सेवनपछि रिकभरी चरणमा रहेका युवाहरूलाई सकारात्मक सन्देश दिने उद्देश्यसहित कुशल परियार र आविष्कार गुरुङले उक्त प्रतियोगिता आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0