पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित हङकङ बजार अगाडि बसपार्कको जग्गामा रहेका संरचना भत्काउन सुरु गरेको छ । राजनीतिक दल निकट ट्रेड युनियन, सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवा लगायतले प्रयोग गर्दै आएका संरचना भत्काउन सुरु गरिएको हो ।
यी संस्थाहरुले पोखरा उपत्यका नगर विकास समितिको जग्गा भोगचलन गर्दै आएका थिए । केही संस्थाले संरचना बनाएर भाडासमेत उठाउने गरेको पाइएको थियो । यहाँ रहेका व्यवसायीले बुधबार राति नै सामान सारेर ठाउँ खाली गरिदिएका थिए ।
महानगरले संरचना हटाउन ३५ दिनको अन्तिम सूचना दिएको थियो । उक्त म्याद जेठ ९ गते नै सकिएको थियो । संरचना हटाएपछि नयाँबजार तर्फ जाने सडक दुईतर्फी विस्तार गरिने पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए ।
यता महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस कार्यमा सहयोग गर्ने सरोकारवाला प्रति आभार पनि प्रकट गरेका छन् । उक्त आसपासमा रहेका सुकमबासीहरूको पनि उचित व्यवस्थापन गरी खाली गर्ने महानगरपालिकाको तयारी रहेको उनले जनाएका छन् ।
अतिक्रमित संरचना हटाउने कार्यलाई महानगरले आफ्नो नियमित अभियानको रूपमा अगाडि बढाएको छ । महानगरले यस अगाडि ५ जेठमा अमरसिंह मावि मातहत रहेको चौरमा बनाइएका ५१ वटा संरचना र फिर्केखोलामा जेठ १० बाट डोजर लगाइरहेको छ ।















