पोखरा । कवि रिमा केसीद्वारा रचित कविता सङ्ग्रह ‘बगावतनामा’ को परिचर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटी नेपालले पोखरामा शनिबार यो कृति माथिको परिचर्चा कार्यक्रम आयोजना गरेको हो । वर्ष २०८२ को अन्तिम शृङ्खलामा कविता सङ्ग्रह माथिको परिचर्चा गर्न पाइएको भन्दै र्‍यान्डम रिडर्स सोसाइटी नेपालका अध्यक्ष दीपक पराजुलीले खुशी व्यक्त गरे। उनले वर्ष २०८२ मा नयाँ शैलीमा लेखिएका पुस्तक समेत पाठकमाझ आएको भन्दै आफूहरूले पुस्तकको परिचर्चा गर्दा विविधता दिने प्रयास गरेको बताए । 

‘बगावतनामा’ कविता सङ्ग्रह माथि परिचर्चा गर्दै लेखक रेशम गिरीले यो एक समसामयिक कृति भएको बताए । यस सङ्ग्रहमा प्रेम, वियोग, सामाजिक न्याय, र विद्रोहका विषयमा आधारित ४० वटा कविताहरू समावेश रहेको उनले बताए । ‘बगावतनामा’ को विषयवस्तुहरू प्रेम र विद्रोहको द्वन्द्वात्मक धरातलमा समकालीन समाजको चित्रण, शैली सरल तर गहिरो बोधयुक्त कविताहरू, जसले समाजलाई सही दिशा देखाउने प्रयास गरेको उनको भनाइ थियो ।

सङ्ग्रहमा छोटा तर गहन अर्थ बोकेका कविताहरू समावेश छन्, जसले प्रेम, विरह, सामाजिक न्याय, विसङ्गति, असमानता, निराशा र आशा जस्ता विविध पक्षलाई समेटेको उनले खुलाए। विशेषतः कविताहरूमा समकालीन समाजका यथार्थ चित्रण गरिएको उल्लेख गरिएको छ। साथै, कवितामार्फत व्यक्ति र समाजबीचको सम्बन्ध, चेतना र संघर्षलाई पनि प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ।

कविता सङ्ग्रहलाई विविध रङ्ग र स्वादले भरिएको बगैँचासँग तुलना गर्दै प्रत्येक कविताले फरक–फरक अनुभूति दिने गिरीले उल्लेख गरे। समग्रमा, कविता सङ्ग्रहले जीवनका विभिन्न आयामलाई कलात्मक ढङ्गले प्रस्तुत गर्दै पाठकलाई गहिरो सोच्न प्रेरित गर्ने निष्कर्ष उनको थियो ।

 कार्यक्रममा ईश्वरमणि अधिकारी, प्रकाश पौडेल,  तीर्थ गुरुङ, भूमिराज बस्ताकोटी लगायतले कविता र प्रस्तुत अवधारणापत्रमाथि आफ्नो टिप्पणी प्रस्तुत गरेका थिए । कविता सङ्ग्रहका बारेमा उठेका विषय र आफ्नो यात्राको बारेमा कवि रिमा केसीले बताइन् । कार्यक्रमको सञ्चालन सोसाइटीका सचिव ध्रुव केसीले गरेका थिए ।  सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार परिचर्चा कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0