पोखरा । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजनामा  खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार देखी सामुदायिक प्रहरी सेवा केन्द्रको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । कास्कीमा रहेका अन्तर सुधार केन्द्र बीचको प्रतियोगिताको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले उद्‌घाटन गरेका हुन् । प्रतियोगितामा १३ वटा सुधार केन्द्रबाट खेलाडीहरू सहभागी छन् । 

प्रतियोगिता उद्‌घाटन पश्चात बोल्दै प्रदेश प्रहरी प्रमुख जिसीले कोही पनि मानिस रहरले कुलतमा नफस्ने बरु मानिसहरू विभिन्न कारणवश दुर्व्यसनमा लाग्ने भएकाले यसलाई अपराधको रुपमा हेर्न नहुने बताए । दुर्व्यसनमा संलग्न व्यक्तिलाई मानसिक यातना दिन नहुने बताउँदै उनीहरूलाई सुध्रिने वातावरण बनाउन सहयोग गर्नुपर्ने बताए ।

सामुदायिक  प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले खेलकुद मार्फत भएका गल्तिलाई सुधार्दै जाने र स्वास्थ्यको लागि  खेलको महत्वपूर्ण हुन्छ भन्ने भनाइका साथ उक्त प्रतियोगिता आयोजना गरेको बताए । सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई आकर्षक पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । 

विगत तीन वर्षदेखि यो प्रतियोगिता गर्दै आएको बताउँदै आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने उनको भनाई रहेको छ । यस्ता प्रतियोगिताले समाजमा सबैले खेल्नु पर्छ भन्ने सन्देश दिने उनको भनाई छ । 

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनपति भण्डारी, अनाथ नेपालका अनुप केसीले बोलेका थिए । कार्यक्रमको सञ्चालन महासचिव घनश्याम भण्डारीले गरेका थिए । प्रतियोगिता शनिबार सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0