पोखरा । पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले २०८३ सालको टेबल क्यालेन्डर विमोचन गरेको छ ।एशोसियसनले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । विमोचन कार्यक्रममा संस्थाका कार्यसमिति, उपसमिति र सल्लाहकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एशोसियसनका अध्यक्ष बुद्धि बहादुर कुँवरले व्यवसायीहरूलाई नयाँ वर्षको शुभकामना दिए । उनले विगतका नराम्रा कुरा त्याग्न आग्रह गरे । ‘नराम्रा कुरालाई भुलेर नयाँ र राम्रो कुरा सिक्दै व्यवसाय वृद्धिमा लाग्नुपर्छ’ कुँवरले भने । उनले सबै व्यवसायीलाई सकारात्मक भएर अगाडि बढ्न समेत सुझाए ।
एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले बुद्ध विशाल बजारलाई पोखराको गहनाका रूपमा चित्रण गरे । व्यवसायीहरूको हकहितका लागि आफू सधैँ साथमा रहने उनले प्रतिबद्धता जनाए । ‘यस बजारभित्र व्यवसाय गर्ने हामी सबै मिलेर व्यापार प्रवर्द्धनमा जुट्नुपर्छ’ खत्रीले भने । त्यस्तै, पूर्व अध्यक्ष तथा सल्लाहकार माधव प्रसाद सिग्देलले व्यवसायीबीचको एकताको प्रशंसा गरे । व्यवसायीहरूको बलियो एकताकै कारण विशाल बजारमा विभिन्न सुधार र परिवर्तन सम्भव भएको उनको तर्क थियो ।
कार्यक्रममा एशोसियसनका उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन समितिका संयोजक मनोहरि पौडेलले संस्थाको गतिशीलताका बारेमा बोले । संस्थालाई चलायमान राख्न यस्ता नियमित कार्यक्रम आवश्यक रहेको उनले बताए । एशोसियसनमा साधारण सदस्यदेखि सल्लाहकार र पूर्व अध्यक्षहरूको हैसियत एउटै हुने उनले उल्लेख गरे । पौडेलले संस्थाप्रति अनुत्तरदायी हुनेहरूप्रति कडा टिप्पणी समेत गरे । ‘संस्थालाई समय नदिने र असहयोग गर्ने व्यक्तिहरूलाई संस्थाले सम्मान दिइराख्नुपर्ने जरुरत छैन’ पौडेलले भने ।
सोही अवसरमा संस्थाकी कार्यालय सचिव सम्झना कुमारी थापालाई बिदाइ गरियो । उनले घरायसी कारणले आफ्नो पदबाट राजीनामा दिएकी थिइन् । थापा विगत ३३ महिनादेखि कार्यालय सचिवका रूपमा कार्यरत थिइन् । कार्यक्रमको सञ्चालन एशोसियसनका महासचिव थमन सिंह गुरुङले गरेका थिए ।
















