पोखरा । पोखरामा आइतबारदेखि ‘डेटा ड्रिभन जर्नालिज्म कोर्स २०२६’ सुरु भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीको आयोजनामा आइतबारदेखि सुरु भएको यो तालिम आगामी शुक्रबार सम्म सञ्चालन हुने छ । सो तालिममा सेन्टर फर मिडिया रिसर्च नेपालको प्राविधिक सहयोग रहेको छ । तथ्याङ्कमा आधारित उक्त पत्रकारिता तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट १८ जना क्रियाशील पत्रकारहरू सहभागी छन् ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. कृष्ण चन्द्र देवकोटाले तथ्यहरूलाई समाचारमा रूपान्तरण गर्दा विश्लेषण र व्याख्यामा चुक्न नहुने बताए । उनले तथ्याङ्कहरूलाई संश्लेषण गर्नुपर्ने बताउँदै यसले समाचारलाई थप प्रभावकारी बनाउने बताए । डेटा ड्रिभन सम्बन्धी तालिमले पत्रकारहरूलाई खोज पत्रकारितामा थप अब्बल बनाउने र क्षमतामा समेत वृद्धि गर्ने बताए । साथै अध्ययन, अनुसन्धान र खोजमा लगानी बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
डा. देवकोटाले प्रदेश सरकारका कारण खर्च मात्र बढि भएको र प्रदेश सरकारले काम नगरेजस्तो गुनासोहरू सुनिन थालेको बताउँदै प्रदेश सरकारले संविधानअनुसार काम गरे नगरेको खोज अनुसन्धान गर्न आग्रह गरे । उनले सङ्घ, प्रदेश र स्थानीय तहले कसरी काम गर्ने भन्नेबारे संविधानले प्रष्ट रुपमा उल्लेख गरेको बताउँदै पत्रकारिताको माध्यमबाट सरकारको काम कारबाहीबारे आम नागरिकलाई जानकारी दिन समेत उनले आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै गण्डकीका प्रेस रजिष्ट्रार विमला भण्डारीले पत्रकारिता रूपान्तरणको अभियानका रुपमा यो तालिमलाई लिन सकिने बताइन् । अबका तालिम तालिमका लागि मात्र नभई नतिजा देखिने खालको हुनुपर्ने बताउँदै सोही अनुरूप तथ्याङ्कमा आधारित तालिम आयोजना गरिएको बताइन् । उनले यस्ता तालिमले पत्रकारको क्षमता विकाससँगै बौद्धिक लगानीका रुपमा रहने बताइन् । अबको ६ दिनसम्म भौतिक रूपमै उपस्थित भएर तालिम प्रदान गरिने त्यसपछि ६ हप्तासम्म अनलाइनमार्फत तालिम दिइने र त्यसपछि आगामी मे महिनाको १० देखि १५ तारिखसम्म भौतिक रूपमै उपस्थित भएर तालिम प्रदान गरिने जानकारी दिइन् ।
तालिमको स्रोत व्यक्तिका रुपमा उमेश श्रेष्ठ र चेतना कुँवर रहेका छन् । प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य केशव शरण लामिछाने, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, महासङ्घ कास्की अध्यक्ष माधव प्रसाद बराल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बासुदेव मिश्र, सञ्चार समन्वय समिति गण्डकीका सदस्य दीपेन्द्र श्रेष्ठ, पूर्व प्रशिक्षार्थी दुर्गा राना मगर लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीका अधिकृत राजेश पौडेलले गरेका थिए ।
















