पोखरा । पोखरा २२ पुम्दीभुम्दीमा विश्वकर्मा सङ्ग्रहालय सञ्चालनमा आउने भएको छ । सङ्ग्रहालयको आगामी बैशाख १ गते औपचारिक उद्‌घाटन गर्ने तयारी गरिएको विश्वकर्मा सङ्ग्राहालयका अध्यक्ष गणेश बराइलीले जानकारी दिए । सङ्ग्रहालय पोखरा २२ को शान्ति स्तूपा र विशाल महादेव मूर्तिको बीचमा रहने छ । अध्यक्ष बराइलीले सो सङ्ग्रहालय सञ्चालनमा आएपछि पोखरामा पर्यटकको बसाइ लम्ब्याउन सकिने बताए ।

सो सङ्ग्रहालयमा विश्वकर्मा समुदाय र यसभित्र पर्ने ५ प्रकारका पेशागत नाम, उनीहरूले प्रयोग गर्ने सामाग्री, उनीहरूको पहिचान र जीवनशैली झल्कने सामाग्रीहरू राखिने छ । विश्वकर्मा भित्र पनि सुनचाँदी, फलाम, खानीजन्य वस्तुहरू, तामा पित्तल, काठको काम गर्ने फरक फरक पेशागत समुदाय रहेको बताउँदै ती सबैको पहिचान झल्काउने सामाग्रीहरू सङ्ग्रहालयमा रहने उनले उल्लेख गरे ।

सङ्ग्रहालय निर्माणका लागि हालसम्म झण्डै २५ लाख लागत खर्च भइसकेको बराइलीले जानकारी दिए । जसमा सरकारी बजेटबाट २० लाख र संस्थाको लागत ५ लाख रहेको छ । सङ्ग्रहालय अवलोकन गर्न टिकटको व्यवस्था गर्ने जनाईएको छ ।  सङ्ग्रहालयसँगै प्रत्यक्ष अवलोकन गर्न मिल्नेगरी खाली जग्गामा आरनको व्यवस्था गर्ने तयारीमा रहेको बराइलीले जानकारी दिए ।

सङ्ग्रहालय शुभारम्भका लागि अबको दुई हप्तामा सामाग्री सङ्कलन लगायत आवश्यक तयारी गरिने जनाईएको छ । सङ्ग्रहालय सञ्चालनका लागि शनिबार बराइलीको अध्यक्षतामा पूर्व तयारी बैठक समेत सम्पन्न भएको छ । 

संविधान सभा सदस्य दुर्गा विकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केदारेश्वर महादेवमणि सेवाश्रम समितिका पिँठाधिश स्वामी चिद्घन चैतन्य लेखनाथ आचार्य, कालिमाटी शान्ति स्तूपा टोल विकास संस्थाका अध्यक्ष दिनेश बराल, विश्वकर्मा समाजका अध्यक्ष रन बहादुर विश्वकर्मा, समाजसेवाहरू निरज थापा, राम बराइली, बुद्धि बिक, कृष्णप्रसाद बराल, रामलाल सुनार, कर्ण बहादुर गुरुङ, भीम बहादुर कामी, भरत सुनार, अशोक कुमार विश्वकर्मा, कौशिला बराइली, सन्तोष दियाली, तेज बहादुर सुनार, राम बहादुर सुनार लगायतले बोलेका थिए । उनीहरूले महत्वपूर्ण सुझाबसमेत राखेका छन् ।  सबैले दिएका सूझाबलाई ध्यान दिएर सङ्ग्रहालय सञ्चालनमा ल्याइने अध्यक्ष बराइलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0