पोखरा । नेपाल पत्रकार महासङ्घ कास्की र नेपाल पत्रकार महासङ्घ धनुषाका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भ्रमणका क्रममा पोखरामा आइपुगेको महासङ्घ धनुषाको टोलीसँग पत्रकारिता क्षेत्रमा देखिएका चुनौती, त्यसलाई समाधान गर्ने उपाय, पोखरा र जनकपुरको पर्यटन क्षेत्रमा गर्न सकिने सहकार्य लगायतका विषयमा छलफल भएको थियो ।
नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले यस्ता भ्रमणले शाखाहरूबीचको सम्बन्ध विस्तार मात्र नभएर कार्य सम्पादनमा प्रभाबकारिता ल्याउन सघाउने उल्लेख गरे । छलफलका क्रममा पत्रकार महिलाको सङ्ख्या र अवस्थाको बारेमा प्रसंग उठेपछि उनले पत्रकार महासङ्घले पत्रकारिता क्षेत्रमा लाग्ने महिलाको सङ्ख्यामा वृद्धि गराउनका लागि कार्यक्रम गर्न लागेको बताए । पछिल्लो समयमा अधिकांश कन्टेन्ट सामाजिक सञ्जाललाई आधार बनाएर बनाउने गरेकोले मिस इन्फरमेसन डिस इन्फरमेसन तर्फ अगाडि बढाएको भन्दै चिन्ता व्यक्त गरे । एल्गोरिदम एआइका समस्या सबैभन्दा बढी पत्रकारिता क्षेत्रले भोग्नुपरेको उल्लेख गरे । प्रविधिलाई कसरी उपयोगको रुपमा लाग सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने चुनौती अहिले देखिएको खुलाए ।

नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन शाहले मधेश प्रदेश सरकारले महासङ्घ धनुषालाई इ लाइब्रेरीको लागि बजेट छुट्याएकोले कास्की शाखाको इलाइब्रेरी हेर्ने र शाखाका गतिविधिबारे जानकारी लिने उद्देश्यले भ्रमण गरिएको बताए । भ्रमणका क्रममा पोखराका विभिन्न पर्यटकीय ठाउँमा समेत पुगेको उनले सुनाए ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव प्रसाद बरालले कास्की रहेका मिडियाका बारेमा जानकारी दिएका थिए । लोककल्याणकारी विज्ञापन उपलब्धिमूलक नभएको पाएको अनुभव उनले सुनाए । पत्रकारलाई रोजगारी नदिइकन गीत मात्र बजाएका रेडियो तथा टेलिभिजनलाई पनि लोककल्याणकारी विज्ञापनको भुक्तानी हुनु गलत भएको उनको भनाइ थियो ।
महासङ्घ कास्कीका उपाध्यक्ष माधव रेग्मीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कास्की सचिव भूपाल गुरुङले गरेका थिए । टोलीले महासङ्घ कास्कीमा रहेको मिडिया सेन्टर, इलाइब्रेरी लगायतको अवलोकन समेत गरेका थिए । कास्की अध्यक्ष बरालले आफू निर्वाचित भएर आइसकेपछि शाखाबाट भए गरेका कार्यहरूको बारेमा प्रस्तुतीकरण समेत गरेका थिए ।
धनुषा शाखाले पोखरा शाखालाई जनकपुर भ्रमणको लागि निम्तो समेत गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष पुण्य प्रसाद पौडेल, पूर्व अध्यक्ष तथा सल्लाहकार दीपेन्द्र श्रेष्ठ, महासङ्घका पूर्व केन्द्रिय उपसभापति गङ्गाधर पराजुली सहित महासङ्घ कास्की र धनुषाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । उनीहरुले आफ्ना अनुभव र जिज्ञाशा समेत राखेका थिए ।
















