पोखरा । होटल सङ्घ पोखरा नेपालले २१ औं संस्करणको फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । सङ्घको हालै सम्पन्न बैठकले २९ चैतदेखि बैशाख १ गतेसम्म लेकसाइडको सडकमा यो महोत्सव सञ्चालन गर्ने निर्णय गरेको हो ।

पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिँदै हरेक वर्ष झैँ यो पटक पनि महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएको संयोजक सुवेदीले बताए । सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीलाई महोत्सवको सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

जेन–जी आन्दोलन र त्यसपछि सम्पन्न आम चुनावसँगै अबका दिनमा आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्न महोत्सवले सघाउने विश्वास सङ्घले लिएको छ । अङ्ग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि भव्यताका साथ मनाउँदै फेवा तालको संरक्षणमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य महोत्सवले बोकेको अध्यक्ष सुवेदीले बताए ।

महोत्सवका अवसरमा दोहोरी तथा गीत सङ्गीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतिहरू समेटिने छन् । महोत्सवको उद्‌घाटन अघि झाँकीहरूको र्‍याली निकालिने छ । महोत्सवको प्रचारका लागि यही चैत ९ गतेदेखि १३ गतेसम्म सङ्घले पूर्वी नेपालका विभिन्न शहरमा जाउँ है पोखरा कार्यक्रम आयोजना गरी महोत्सवमा सहभागिताका लागि निमन्त्रणा प्रदान गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0