पोखरा । पर्यटनको राजधानी पोखरामा यही चैत २८ गते रात्रि दौड प्रतियोगिताको आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै महिला, विद्यार्थी (यू–१६) र विदेशी सहभागीका लागि छुट्टाछुट्टै विधाका विजेतालाईसमेत प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।

खेल पर्यटनका माध्यमबाट पोखराको प्रर्वद्धनका लागि क्रियाशील रहेका दुई संस्था पोखरा क्लिक र पोखरा प्रर्वद्धन केन्द्रको संयुक्त आयोजनामा उक्त दौड प्रतियोगिता सञ्चालन हुन लागेको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताउनु भयो ।

पोखरा क्लिकले यसअघि पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताका दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमका तुलनामा नेपाली नयाँ वर्षमा सो प्रकृतिका कार्यक्रम कम हुँदै आएकाले “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने अवधारणामा रात्रि दौड आयोजना गर्न लागिएको पोखरा प्रवर्द्धन केन्द्रका उपाध्यक्ष असफल गौतम बताउँछन् ।

पाँच किलोमिटर दूरीको उक्त दौड बाराही घाटबाट सुरु भई लेकसाइड, पोखराका प्रमुख नगरी क्षेत्र, न्युरोड, महेन्द्रपुल हुँदै झण्डा पार्क (फल्चा) मा पुगेर सम्पन्न हुनेछ । रात्रिकालीन दौडमार्फत् पोखराको पर्यटन, सांस्कृतिक सौन्दर्य र खेलकुद गतिविधिलाई एकसाथ प्रवर्द्धन गरी पर्यटकीय राजधानी पोखरालाई खेल पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य आयोजक संस्थाको रहेको ।

स्थानीय व्यवसाय र पर्यटन क्षेत्रलाई सक्रिय बनाउँदै नयाँ वर्षको अवसरमा युवा र सर्वसाधारणलाई खेलकुद गतिविधिमा सहभागी गराउने लक्ष्य रहेको उक्त प्रतियोगिता सञ्चालनका लागि पोखरा महानगरपालिका, वडा कार्यालय, सुरक्षा निकाय तथा पर्यटन र खेलकुदसँग सम्बन्धित विभिन्न संघ–संस्थासँग सहकार्य गरिने भएको केन्द्रका सचिव सागर सुनारले जानकारी दिनुभयो ।

सम्पूर्ण सरोकारवालाको सहकार्यमा पोखरा रात्रि दौड प्रतियोगिता–२०८३ लाई सुरक्षित, आकर्षक र सफल रूपमा सम्पन्न गर्न प्रतियोगितामा धावकहरूको सुरक्षा, स्वास्थ्य सेवा र ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिइनेसमेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0