पोखरा । विश्व उपभोक्ता अधिकार दिवस स्याङ्जामा मनाइएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका स्थित प्रधुम्न पनेरु माविमा सम्पन्न कार्यक्रममा उपभोक्ता, व्यापारी, विद्यार्थी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।पञ्चेबाजा र सचेतनामूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रम पश्चात् भएको सचेतना तथा अभिभुखिकरण कार्यक्रममा बोल्दै आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले उपभोक्ताहरू आफ्नो अधिकार प्रति सचेत हुनुको साथै उद्योगी तथा व्यापारीले इमान्दारिता पूर्वक उपभोक्ताको हित हुने गरी व्यवसाय गर्नुपर्ने कुरामा जोड दिए ।
गाउँपालिका उपाध्यक्ष सिता थापाले आफैले उत्पादन गरेका रैथाने बालीलाई खाद्यान्नको रुपमा प्रयोग गर्नुपर्ने कुरामा जोड दिँदै सबैको सहकार्यबाट नै उपभोक्ताको अधिकार संरक्षण गर्न सकिने कुरा बताइन् । सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले उपभोक्ताको अधिकार संरक्षण गर्न नियमित बजार अनुगमन गरिएको बताए । उनले कानून विपरीत काम गर्ने, कालोबजारी गर्ने, कृतिम अभाव सिर्जना गर्ने, गुणस्तर नभएको खाद्यन्न उत्पादन र वितरण गर्ने जोकोहीलाई पनि कानून बमोजिम कारबाही गरिने बताए ।
स्याङ्जा जिल्लाका प्रहरी प्रमुख दधिराम न्यौपानेले सबै उपभोक्ताहरूमा सचेतनाको साथै कानून विपरीत उपभोक्तालाई असर पुग्ने कार्य भएमा प्रहरी र सम्बन्धित निकायमा उजुरी दिएर स्वच्छ व्यवसायिक वातावरण गर्नुपर्ने कुरामा जोड दिए । उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले उपभोक्ताहरू आफूले प्रयोग गर्ने सामानहरूको गुणस्तर, मूल्यको बारेमा सचेत हुनु पर्ने बताए । एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले आफ्नो उपभोग्य अधिकार सुनिश्चित गर्न सर्वप्रथम स्वयं जागरुक हुनुपर्ने भन्दै सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न आग्रह गरे ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साहित्यिक सिर्जना मार्फत उपभोक्ताको अधिकारबारे आफ्नो प्रस्तुती राखेका थिए । गायन, नृत्य सहित कविता प्रस्तुत गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । यसैबीच कार्यक्रममा उपभोक्ताको हक, हित र सुरक्षाको लागि लामो समयदेखि योगदान दिएको भन्दै उपभोक्ता मञ्च जिल्ला अध्यक्ष राजेन्द्र मरासिनीलाई सम्मानपत्रद्वारा सम्मान गर्यो । कार्यक्रम कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कम्प्युटर अपरेटर कृष्ण लम्सालले गरे । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रुपमा मनाउने गरिन्छ । सन् १९६२ मा अमेरिकाका राष्ट्रपति जोन अफ केनेडीले उपभोक्ता अधिकारको बारेमा अमेरिकी काँग्रेसको सभामा बोलेको दिनको सम्झनामा यो दिवस मनाउँदै आइएको छ ।
















