पोखरा । पोखरामा शनिबार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ बारे पत्रकारहरूसँग अन्तरक्रिया गरिएको छ । प्रदेश निर्वाचन कार्यालय, पोखराको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा  प्रदेश निर्वाचन कार्यालय मार्फत  हालसम्म गरेका मुख्य-मुख्य गतिविधिबारे जानकारी गराइएको थियो ।

गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । जसमा ९ लाख ५५ हजार २५१ पुरुष, ९ लाख १४ हजार ८०० महिला र १४ जना अन्य मतदाता छन् । प्रदेशभर १ हजार २ सय ९९ मतदान स्थल र २ हजार ३ सय ९६ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन सम्पन्न गराउन प्रदेशभर १४ हजार ३ सय ५० कर्मचारी र ७ हजार ६५ जना स्वयंसेवक परिचालन गरिएको छ ।

गण्डकीका १८ निर्वाचन क्षेत्रमा ३० जना स्वतन्त्रसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा छन । सबैभन्दा बढी कास्कीमा १८ र सबैभन्दा कम मनाङमा ३ दलले उम्मेदवारी दर्ता गरेको प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले बताए । प्रदेश भर २१ हजार ६ सय ९३ अस्थायी मतदाता रहेका र उनीहरूका लागि १७ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

कास्की जिल्लामा ३ लाख ८ हजार ५७२ मतदाता रहेका छन् । यहाँ ४४ पुरुष र ५ महिला गरी ४९ जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाभर १५३ मतदान स्थल र ३६३ मतदान केन्द्र कायम गरिएको छ । २ वटा अस्थाइ मतदान केन्द्र समेत रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले निर्वाचनलाई तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । आचारसंहिता उल्लङ्घनका घटनालाई न्यूनिकरण गर्नका लागि निरन्तर अनुगमन भइरहेको उनको भनाइ थियो । कास्कीमा लिखित उजुरी नपरे पनि मौखिक सूचनाका आधारमा ठूला झण्डा हटाउने, भोजभतेर रोक्ने र २५ जनाभन्दा बढीको जुलुसलाई नियन्त्रण गर्ने काम भएको छ । 

प्रदेश निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकारी नारायण ढकालले गण्डकीका ११ वटै जिल्ला र निर्वाचन आयोगसँग निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहकार्य, समन्वय र सहजिकरणको काम भइरहेको बताए । गण्डकी प्रदेशमा निर्वाचनमा १४ हजार ३ सय ५० कर्मचारी र ७ हजार ६५ स्वयंसेवक खटाइने उनले जानकारी दिए। गण्डकी प्रदेशभित्रका १२ सय ९७ मतदानस्थल र २३ सय ९६ मतदान केन्द्रहरू रहेको र ती सबै केन्द्रहरूका लागि मागपत्रसहितको निर्वाचन सामाग्रीहरू मतदान अधिकृतलाई प्रदान गर्ने तयारी पुरा भइसकेको बताए । फागुन ३ गतेदेखि जारी मतदाता शिक्षा आइतबारसम्म जारी रहने उनको भनाई छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन भइसकेको बताइन् । निर्वाचन विरोधी गतिविधि गर्ने ५ जनालाई पक्राउ गरी ३ जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको प्रजिअ शर्माले जानकारी दिइन् । निर्वाचन सुरक्षालाई ध्यानमा राखी सादा पोशाकमा विशेष टोली परिचालन भइसकेको बताउँदै निर्वाचन बिथोल्ने र अवरोध गर्ने काम हुन नदिने बताइन्

यसपाली खर्चको पारदर्शिताका लागि उम्मेदवारले बैंक खाता खोल्न अनिवार्य गरिएको छ । तर कास्कीमा ४९ उम्मेदवार मध्ये ४ जनाले बैंक खाता खोल्नका लागि सिफारिशै नलगेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।  कास्कीका ४९ उम्मेदवार मध्ये ४२ उम्मेदवारहरुले मात्रै आफ्नो नाममा छुट्टै बैंक खाता सञ्चालनमा ल्याएको कास्कीका प्रमुख कोष नियन्त्रक तथा निर्वाचन अनुगमन अधिकृत रमेश अर्यालले बताए ।

अन्तरक्रियामा गण्डकी प्रदेशका विभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0